बीबीसी। युक्रेनविरुद्धको युद्धमा रुसका कम्तीमा ४ लाख ९० हजार ३३४ सैनिक मारिएको तथ्यांक सार्वजनिक भएको छ। रुसकै सरकारी तथ्यांक विश्लेषण गर्दा सन् २०२२ मा युद्ध सुरु भएयता यति ठूलो संख्यामा रुसी सैनिकको मृत्यु भएको देखिएको बीबीसीले जनाएको छ।
रुसको तथ्यांकसम्बन्धी सरकारी निकाय रोसस्टाटबाट चुहिएको तथ्यांकले युक्रेनमाथि रुसले गरेको पूर्णस्तरको आक्रमणले देशको मृत्युदरको स्वरूपमै परिवर्तन ल्याएको देखाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिनमै सकिने ठानेको युद्ध सुरु भएको झन्डै पाँच वर्ष पुग्न लाग्दा यसको मानवीय मूल्य निकै ठूलो भएको तथ्यांकले देखाउँछ।
बीबीसी रसियनले सन् २०२१ देखि सेप्टेम्बर २०२६ सम्मका १ करोड १० लाखभन्दा बढी मृत्यु अभिलेखमा पहुँच पाएको थियो। बेलारुसको साइबर पार्टिजन्स बीवाई र युक्रेनको साइलेन्ट क्रो समूहले गरेको साइबर आक्रमणपछि ती तथ्यांक बाहिरिएका हुन्।
रुसको तथ्यांक निकायले साइबर आक्रमण भएको स्वीकार गरे पनि सुरक्षित राख्नुपर्ने कुनै सूचना चुहिएको भन्ने कुरा अस्वीकार गरेको छ।
बीबीसी रसियनले रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोनासँग मिलेर रोसस्टाटको तथ्यांकलाई युद्ध सुरु भएयता खुला स्रोतबाट संकलन गरिएको आफ्नै सैनिक मृत्युको सूचीसँग तुलना गरेको थियो। त्यसक्रममा दुवै तथ्यांकका ९० प्रतिशत अभिलेख एकअर्कासँग मेल खाएको पाइएको बीबीसीले जनाएको छ।
तथ्यांकअनुसार सन् २०२५ मा रुसमा ज्यान गुमाएका १८ देखि २४ वर्ष उमेर समूहका ६५ प्रतिशत मानिसको मृत्यु युद्धमा भएको थियो। त्यस्तै, २५ देखि ३४ वर्ष उमेर समूहमा यो संख्या ५९ प्रतिशत छ।
४५ देखि ५४ वर्ष उमेर समूहमा भने हृदय तथा रक्तनलीसम्बन्धी रोगका कारण हुने मृत्यु युद्धमा हुने मृत्युभन्दा बढी रहेको छ।
तथ्यांकले युक्रेनका विभिन्न क्षेत्रमा रुसी सेनाले बेहोरेको क्षतिको अवस्थासमेत देखाएको छ। युद्धअघि कुल १२ हजार जनसंख्या रहेका युक्रेनका १० वटा गाउँ नियन्त्रणमा लिन भएको लडाइँमा मात्रै करिब २० हजार रुसी सैनिक मारिएका थिए।
डोनेत्स्क क्षेत्रको बाख्मुत सहरको दक्षिणमा रहेको सानो गाउँ आन्द्रियिभ्काका लागि भएको लडाइँमा १ हजार १२२ रुसी सैनिकले ज्यान गुमाएका थिए। युद्धअघि उक्त गाउँमा जम्मा ७४ जना बस्थे।
रुसले सन् २०२२ को फेब्रुअरीमा युद्ध सुरु भएयता आफ्ना सैनिकको मृत्युबारे आधिकारिक सार्वजनिक तथ्यांक दिएको छैन। दुई वर्षअघि रोसस्टाटले बाह्य कारणबाट भएका मृत्युको तथ्यांक सार्वजनिक गर्नसमेत बन्द गरेको थियो। यसअघि त्यही तथ्यांकलाई सैनिक क्षतिको अनुमान गर्न प्रयोग गरिँदै आएको थियो।
उदाहरणका लागि, पूर्वी युक्रेनका रुसको कब्जामा रहेका डोनेत्स्क र लुहान्स्क क्षेत्रका बासिन्दामध्ये रुसी सेनामा भर्ना भएर लडेका सैनिकको मृत्युका घटनामध्ये बीबीसीले पहिचान गरेका ७० प्रतिशत मात्रै रोसस्टाटको अभिलेखमा समेटिएका छन्।
झन्डै ५ लाख मृत्युको तथ्यांक कसरी निकालियो ?
रोसस्टाटको तथ्यांकमा मृतकको नाम समावेश छैन। तर उमेर, बसोबासको स्थान, मृत्यु भएको ठाउँ र मृत्युको परिस्थितिबारे विवरण राखिएको छ।
बीबीसीले सुरुमा युक्रेन र युक्रेनी सेनाले आक्रमण गरेका रुसी सीमावर्ती क्षेत्रका मृत्यु अभिलेख मात्रै छुट्याएको थियो।
त्यसपछि सैन्य गतिविधिसँग सम्बन्धित मृत्युको कारण स्पष्ट उल्लेख भएका ४ लाख २५ हजार १७४ अभिलेख पहिचान गरियो। तीमध्ये युद्धका क्रममा भएको विस्फोट वा छर्रा लागेर मृत्यु भएका घटनासमेत समावेश थिए।
यी अभिलेखमा सर्वसाधारण नागरिकको मृत्यु पनि पर्न सक्ने भएकाले महिलाका अभिलेख हटाइयो। त्यसैगरी १८ देखि ६५ वर्ष उमेर समूहबाहिरका पुरुषलाई पनि गणनामा समावेश गरिएन।
रुसले कब्जा गरेका युक्रेनका चार क्षेत्रमा बसोबास गर्ने र त्यहीँ मृत्यु भएका व्यक्तिलाई पनि सम्भावित सर्वसाधारण नागरिक मानेर सूचीबाट हटाइयो। तर उनीहरूको अभिलेखमा सैनिक सेवासम्बन्धी विवरण भेटिएमा भने गणना गरिएको थियो।
यसका अतिरिक्त रोजगारीसम्बन्धी विवरणका आधारमा थप १४ हजार ९३ वटा अभिलेख पहिचान गरियो। त्यस्तै, अदालतको आदेशका आधारमा मृत घोषणा गरिएका ५१ हजार ६७ वटा अभिलेख पनि तथ्यांकमा समावेश गरिए।
युद्ध क्षेत्रमा सैनिक बेपत्ता भएको र शव फेला नपरेको अवस्थामा पनि यस्तो निर्णय हुने गर्छ। विशेषगरी लडाइँका क्रममा ६ महिनाभन्दा बढी समय बेपत्ता भएका सैनिकलाई अदालतको आदेशबाट मृत घोषणा गरिने गरेको छ।
यसपटक पनि सर्वसाधारण नागरिकको मृत्यु समावेश नहोस् भनेर युक्रेन र रुसका युद्ध प्रभावित क्षेत्रमा भएका मृत्युलाई मात्रै गणना गरिएको बीबीसीले जनाएको छ।
बीबीसी रसियनले मिडियाजोनासँग मिलेर तयार पारेको रुसी सैनिक मृत्युको विस्तृत सूचीमा भने २ लाख ९० हजार १२ जनाको नाम पुष्टि भएको छ। यो सूची आधिकारिक सूचना, सामाजिक सञ्जालका विवरण, नयाँ स्मारक र चिहानका आधारमा तयार गरिएको हो।
सबै सैनिकको मृत्यु सार्वजनिक नहुने भएकाले वास्तविक मृतक संख्या योभन्दा बढी हुन सक्ने बीबीसीको अनुमान छ।
रोसस्टाटबाट प्राप्त तथ्यांकले बीबीसीले आफ्नै स्रोतबाट गरेको गणनामा देखिएका प्रवृत्तिलाई पनि पुष्टि गरेको छ।
बीबीसी रसियनको विश्लेषणअनुसार युद्धको पहिलो वर्ष मारिएका रुसी सैनिकको औसत उमेर ३४ वर्ष थियो। तर सन् २०२५ सम्म आइपुग्दा कैदीबन्दी र करारमा भर्ती भएका सैनिकसमेत युद्धमा सहभागी भएपछि मृतकको औसत उमेर बढेर ४० वर्ष पुगेको छ। बीबीसीको आफ्नै सूचीमा भने यो औसत उमेर ३८ वर्ष छ।
पूर्वी साइबेरियाका रुसका केही गरिब क्षेत्रबाट युद्धमा ज्यान गुमाउनेको अनुपात अस्वाभाविक रूपमा बढी देखिएको छ। टुभा, बुरियातिया र जाइकाल्स्की क्राइ क्षेत्रका पुरुषको युद्धमा मारिने सम्भावना मस्को र सेन्ट पिटर्सबर्गजस्ता ठूला सहरका बासिन्दाको तुलनामा २० देखि २५ गुणासम्म बढी रहेको तथ्यांकले देखाएको छ।
धेरैजसो क्षेत्रमा रोसस्टाटको तथ्यांक र बीबीसीको आफ्नै सूचीमा देखिएको मृतकको वितरणबीचको अन्तर एक प्रतिशत बिन्दुको केही दशांश मात्रै छ।
रुसका लागि लड्दै ज्यान गुमाउने विदेशी नागरिकको संख्या पनि कम्तीमा ५ हजार १७ रहेको बीबीसीको विश्लेषणमा उल्लेख छ। तीमध्ये १ हजार ३१ जना उज्बेकिस्तान र ७२० जना ताजिकिस्तानका नागरिक हुन्। सर्वसाधारण नागरिकसमेत गणनामा पर्न सक्ने जोखिमबाट बच्न युक्रेनी नागरिकलाई यो सूचीमा समावेश गरिएको छैन।
दोहोरो नागरिकता भएका व्यक्तिलाई तथ्यांकमा रुसी नागरिकका रूपमा उल्लेख गरिने भएकाले यो संख्या वास्तविकताभन्दा कम हुन सक्ने बीबीसीले जनाएको छ। सन् २०२४ मा युक्रेनी सेनाले रुसभित्र गरेको सैन्य प्रवेश रोक्ने क्रममा मारिएका उत्तर कोरियाली सैनिकको विवरण पनि यस तथ्यांकमा छैन।
बीबीसीले भने प्योङयाङमा निर्माण गरिएको नयाँ स्मारकका भूउपग्रह तस्बिर र आधिकारिक तस्बिर विश्लेषण गरेर त्यहाँ मारिएका २ हजार ३०४ उत्तर कोरियाली सैनिकको पहिचान गरेको छ।
चुहिएको रुसी सरकारी तथ्यांक पूर्ण नहुन सक्ने भए पनि बीबीसी रसियनले गरेको आफ्नै अनुसन्धानसँग मिलाएर हेर्दा यसले युद्धमा भएको मानवीय क्षतिको महत्वपूर्ण तस्बिर प्रस्तुत गरेको छ।
सैन्य मामिलाका विज्ञहरूको अनुमानअनुसार खुला स्रोतबाट पहिचान गरिएका २ लाख ९० हजार १२ मृतकमध्ये वास्तविक मृतक संख्याको ४५ देखि ५५ प्रतिशत मात्रै समेटिएको हुन सक्छ। यस आधारमा रुसका वास्तविक सैनिक मृतकको संख्या ५ लाख २७ हजार २९५ देखि ६ लाख ४४ हजार ४७१ सम्म हुन सक्ने अनुमान गरिएको छ।
चार वर्ष १० महिना लामो युद्धको अवधिलाई हेर्दा रुसले बेहोरेको यो क्षति निकै ठूलो हो। सन् १९८९ मा समाप्त भएको अफगानिस्तान युद्धसँग तुलना गर्दा पनि यो संख्या उल्लेखनीय रूपमा उच्च देखिन्छ।
युक्रेनतर्फको मानवीय क्षतिको पछिल्लो सार्वजनिक अनुमान राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२६ को जुलाईमा दिएका थिए। उनले त्यतिबेला युक्रेनका करिब ५० हजार सैनिक मारिएको बताएका थिए।
तर खुला स्रोतमा आधारित र अज्ञात व्यक्तिहरूद्वारा सञ्चालित वेबसाइट यूए लसको अर्को सूचीमा युक्रेनी सैनिकको मृत्यु संख्या १ लाख १५ हजार ९५२ उल्लेख छ।
