वासिङ्टन डीसी । अमेरिकाले नेपालसहित विभिन्न देशका नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालको टीपीएस सुविधा एक वर्षअघि नै सकिएको थियो । तर, खारेज गर्ने वा कायम गर्ने भन्ने निर्णय भइसकेको थिएन ।
हाल अमेरिकी सरकारले नेपाली नागरिकका लागि टीपीएस सुविधा कायम राख्नुपर्ने कानुनी आधार नरहेको भन्दै यसको अन्त्य गर्ने निर्णय गरेको हो ।
टीपीएसअन्तर्गत अमेरिकामा रहेका सम्बन्धित देशका योग्य नागरिकले निश्चित अवधिसम्म अमेरिकामा बस्न तथा काम गर्न पाउने र देशनिकालाबाट अस्थायी सुरक्षा पाउने व्यवस्था थियो ।
टीपीएस समाप्त भएपछि भने अन्य कुनै वैध आप्रवासन हैसियत नभएका व्यक्तिले अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्छ । तसर्थ टीपीएस सुविधा लिएर अमेरिका बसेका नेपालीहरुलाई यो निर्णयले जोखिम सिर्जना भएको छ ।
Termination of TEMPORARY Protected Status is now in effect for the following countries.
For those with terminated TPS: LEAVE NOW or be DEPORTED. https://t.co/Pahpi5pL2Z https://t.co/gYXRJoBYA3
— Homeland Security (@DHSgov) August 14, 2026
नेपालसँगै अमेरिकी सरकारले हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरुन, होन्डुरस, निकारागुवा, भेनेजुएला, दक्षिण सुडान, म्यानमार (बर्मा), सोमालिया र इथियोपिया लगायतका देशका नागरिकका लागि टीपीएस अन्त्य गर्ने निर्णय गरेको सूची सार्वजनिक भएको छ ।
टीपीएस सेवा युद्ध, प्राकृतिक विपत्ति वा अन्य असाधारण परिस्थितिका कारण तत्काल आफ्नो देश फर्कन नसक्ने अवस्थामा रहेका नागरिकहरुलाई अमेरिकाले प्रदान गर्ने अस्थायी कानुनी संरक्षण हो ।