काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सञ्चालक समिति प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङलाई पदबाट हटाउने तयारीमा रहेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
ह्वाङले विवाहबाहिर दुई महिलासँग सम्बन्ध राखेको र त्यसमध्ये एक महिला चिनियाँ जासुस भएको आशंका गरिएको रिपोर्टमा उल्लेख छ । यसबारे जानकारी भएका व्यक्तिहरूलाई उद्धृत गर्दै जर्नलले बुधबार यस्तो समाचार प्रकाशित गरेको हो ।
रिपोर्टअनुसार सञ्चालक समितिले ह्वाङको भविष्यबारे निर्णय गर्न बैठक बस्ने तयारी गरेको छ ।
ह्वाङले पद छाड्नुपर्ने अवस्था आएमा उनले तीन दशकभन्दा बढी समय लगाएर सहसंस्थापकका रूपमा निर्माण गरेको करिब ४ ट्रिलियन डलर बजार मूल्यको कम्पनीमा नेतृत्वको रिक्तता उत्पन्न हुन सक्छ । एनभिडिया अहिले विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) विस्तार र अमेरिका-चीन प्रविधि प्रतिस्पर्धाको केन्द्रमा रहेको एआई चिपको प्रमुख आपूर्तिकर्ता हो ।
बुधबार बजार बन्द भएपछि भएको कारोबारमा कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशत घटेको छ । सञ्चालक समितिले अनुसन्धानको घोषणा गरेयता बुधबारको बजारपछिको गिरावटसमेत जोड्दा यस साता एनभिडियाले सेयर बजारको कुल मूल्यमा करिब ६ खर्ब डलर गुमाएको छ ।
डीए डेभिडसनका प्रविधि अनुसन्धान प्रमुख गिल लुरियाले ह्वाङलाई तत्काल हटाउनु एनभिडियाका लागि चुनौतीपूर्ण हुन सक्ने बताएका छन् ।

‘कम्पनीसँग उत्तराधिकारीको योजना नभएकाले ह्वाङलाई तत्काल हटाउनु एनभिडियाका लागि चुनौतीपूर्ण हुन सक्छ । यदि ह्वाङले कानुन उल्लंघन गरेका छन् वा कम्पनीका नीतिविपरीत काम गरेका छन् भने सञ्चालक समितिले प्रमाण प्राप्त गर्नेबित्तिकै कदम चाल्ने सम्भावना छ,’ उनले भने ।
यसअघि बुधबार नै न्युयोर्क टाइम्सले ह्वाङको आफ्नै मातहतमा काम गर्ने कम्पनीकी एक उच्च अधिकारीसँग विवाहबाहिर सम्बन्ध रहेको समाचार प्रकाशित गरेको थियो ।
न्युयोर्क टाइम्सका अनुसार ती महिला एनभिडियाकी स्वास्थ्य सेवा विभागकी उपाध्यक्ष किम्बर्ली पावेल हुन् । कम्पनीमा काम गरेका पाँच जनालाई उद्धृत गर्दै अखबारले यस्तो विवरण सार्वजनिक गरेको हो ।
बुधबार फोनमार्फत पावेलसँगको सम्बन्धबारे सोध्दा ह्वाङले भने, ‘मलाई लाग्दैन, तपाईंले यसबारे मसँग सीधै कुरा गर्नुपर्छ ।’ त्यसपछि उनले फोन काटेको न्युयोर्क टाइम्सले जनाएको छ ।
एनभिडिया र पावेलले यस विषयमा टिप्पणी माग्दा तत्काल प्रतिक्रिया दिएका छैनन् । रोयटर्सले पनि यी रिपोर्टहरूको तत्काल स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
यी समाचारसँगै ह्वाङको व्यक्तिगत सम्बन्धबारे सुरु भएको विवाद थप चर्किएको छ । यसअघि एलिस ह्वाङसँग उनको सम्बन्धबारे विवरण सार्वजनिक भएको थियो । अमेरिकी गुप्तचर निकायले एनभिडियाका चिप चिनियाँ कम्पनीहरूमा पठाउने काम सहजीकरण गर्न एलिस संलग्न रहेको बताएको छ ।
आइतबार कर्मचारीहरूलाई पठाएको ज्ञापनपत्रमा ह्वाङले आफ्नी पत्नीप्रति बेइमान भएको स्वीकार गर्दै त्यसको ‘पूर्ण जिम्मेवारी’ लिने बताएका थिए । तर उनले उक्त सम्बन्धबारे विस्तृत विवरण दिएका थिएनन् ।
त्यही दिन एनभिडियाको सञ्चालक समितिले ह्वाङ विदेशी गुप्तचर निकायको अपरेसनको निशानामा परेका थिए कि थिएनन् भन्नेबारे अनुसन्धान सुरु गरेको थियो । स्वतन्त्र सञ्चालकहरूको निगरानीमा बाह्य कानुनी परामर्शदातासहित अनुसन्धान भइरहेको छ । त्यसबेला सञ्चालक समितिले ह्वाङप्रति विश्वास व्यक्त गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले यस आरोपबारे ह्वाङसँग छलफल नगरेको बताएका छन् । यद्यपि उनले एनभिडियाका प्रमुखको समर्थन गर्दै उनलाई ‘सम्मानित व्यक्ति’ र ‘हाम्रो देशका लागि अद्भुत काम गरेका व्यक्ति’ भनेका छन् ।
बेइजिङलाई सूचना उपलब्ध गराउने चिनियाँ व्यवसायी महिलासँग ह्वाङको निकट सम्बन्ध रहेको आरोपबारे बन्द ढोकाभित्र हुने संसदीय छलफलमा उपस्थित भएर जानकारी दिन गरिएको अनुरोधको जवाफ नदिए उनले अमेरिकी संसद्बाट औपचारिक रूपमा उपस्थित हुनुपर्ने आदेश (समन्स) सामना गर्नुपर्ने सम्भावना छ ।
ह्वाङले सन् १९९३ मा कर्टिस प्रिम र क्रिस मालाचोस्कीसँग मिलेर एनभिडिया स्थापना गरेका थिए । कम्पनीले सुरुवातमा कम्प्युटर गेमका लागि ग्राफिक्स चिप उत्पादन गरेको थियो । पछि कम्पनीको सीयूडीए सफ्टवेयरले ती प्रोसेसरलाई सामान्य कम्प्युटिङ र त्यसपछि एआईका लागि समेत प्रयोग गर्न सम्भव बनाएको थियो ।