नयाँ दिल्ली । भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली चक्रवाती आँधीमा परिणत हुन सक्ने पूर्वानुमान गरेको छ।
आईएमडीले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानअनुसार दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र बनेको छ। उक्त प्रणाली शनिबारसम्ममा शक्तिशाली न्यून चापीय क्षेत्र र आइतबारको बिहानसम्ममा न्यून चापीय डिप्रेसनमा परिणत हुने सम्भावना छ।
त्यसपछि यो प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ अघि बढ्दै सोमबारको साँझसम्म मध्य बंगालको खाडीमा चक्रवाती आँधीका रूपमा विकसित हुन सक्ने विभागले जनाएको छ।
विभागका अनुसार बंगालको खाडी र अण्डमान सागर आसपासका क्षेत्रमा आगामी केही दिन मौसम प्रतिकूल रहनेछ। नोभेम्बर १४ र १५ मा दक्षिणपूर्वी बंगालको खाडीमा प्रतिघण्टा ४० देखि ५० किलोमिटर र झोक्कासहित ६० किलोमिटरसम्मको हावाहुरी चल्ने सम्भावना छ।
नोभेम्बर १६ र १७ मा हावाको गति बढेर प्रतिघण्टा ५० देखि ६० किलोमिटर र झोक्कासहित ७० किलोमिटरसम्म पुग्न सक्ने पूर्वानुमान छ। मध्य बंगालको खाडीमा नोभेम्बर १७ देखि प्रतिघण्टा ६५ देखि ७५ किलोमिटर र झोक्कासहित ८० किलोमिटरसम्मको हावा चल्न सक्ने विभागले जनाएको छ।
अण्डमान तथा निकोबार द्वीपसमूहमा नोभेम्बर १३ देखि १९ सम्म व्यापक वर्षाको सम्भावना छ। त्यहाँ नोभेम्बर १३ देखि १६ सम्म भारी वर्षा हुन सक्ने चेतावनी पनि दिइएको छ।
आईएमडीले समुद्रमा रहेका माछा मार्ने डुङ्गा तथा जहाजलाई नोभेम्बर १५ भित्र किनार फर्कन आग्रह गरेको छ। अण्डमान सागर र आसपासका क्षेत्रमा नोभेम्बर १७ सम्म तथा दक्षिणपूर्वी बंगालको खाडीमा नोभेम्बर १७ सम्म माछा मार्न नजान पनि विभागले चेतावनी दिएको छ।
त्यस्तै, दक्षिणपश्चिमी बंगालको खाडीमा नोभेम्बर १५ देखि १८ सम्म र मध्य बंगालको खाडीमा नोभेम्बर १६ देखि १९ सम्म समुद्रमा नजान माछा मार्नेहरूलाई सुझाव दिइएको छ।
यसैबीच, भारतको उत्तरपश्चिमी क्षेत्रमा नोभेम्बर १५ देखि अर्को पश्चिमी वायु प्रणाली (वेस्टर्न डिस्टर्बेन्स) को प्रभाव पर्ने सम्भावना रहेको पनि आईएमडीले जनाएको छ।
