बीबीसी । अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसले हवाई आक्रमण तीव्र बनाएपछि युक्रेनलाई आफ्नो रक्षा गर्न यी क्षेप्यास्त्र आवश्यक परेको छ ।
तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेप्यास्त्र आपूर्ति हुन ‘केही वर्ष’ लाग्न सक्ने चेतावनी दिएका छन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार उन्नत प्रविधियुक्त पीएसी-३ इन्टरसेप्टर क्षेप्यास्त्रको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । यसको सम्पूर्ण खर्च युरोपेली देश र क्यानडाका सहयोगीहरूले बेहोर्नेछन् ।
शुक्रबार राति जेलेन्स्कीले अमेरिकालाई प्याट्रियट क्षेप्यास्त्र छिटो उपलब्ध गराउन पुनः आग्रह गरेका थिए । उनका अनुसार रुसका घातक ब्यालेस्टिक क्षेप्यास्त्र खसाल्न प्रभावकारी रहेको एक मात्र हतियार प्याट्रियट हो ।
यो पछिल्लो निर्णय यसै महिनाको सुरुतिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच उत्पन्न विवादपछि आएको हो । रुसबाट डिजेल आपूर्ति सुनिश्चित गर्ने सम्झौताको हिस्साका रूपमा अमेरिकाले रुसमाथिका प्रतिबन्ध खुकुलो बनाएपछि दुई नेताबीच तनाव बढेको थियो ।
ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने सम्झौताका लागि युक्रेनमा नयाँ नेता आउने समय भएको बताएका थिए । रुसले यसअघि क्रिमिया र पूर्वी युक्रेनको डोनबास क्षेत्रका केही भूभाग कब्जा गरिसकेको थियो । त्यसपछि सन् २०२२ को फेब्रुअरीमा उसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो ।
अक्टोबर २० मा ओस्लोमा जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूसँग वार्ता गरेपछि भने तनाव केही कम भएको थियो ।
शुक्रबार जारी विज्ञप्तिमा अमेरिकी विदेश मन्त्रालयले प्रस्तावित बिक्रीले युरोपमा राजनीतिक तथा आर्थिक स्थायित्व कायम गर्न भूमिका खेलिरहेको साझेदार मुलुकको सुरक्षा सुदृढ बनाउने जनाएको छ । यसबाट अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षा उद्देश्यलाई सहयोग पुग्ने उसको भनाइ छ ।
विज्ञप्तिमा युक्रेनले क्यानडा, जर्मनी र नर्वेबाट प्राप्त अनुदान तथा राष्ट्रिय कोषमार्फत क्षेप्यास्त्र खरिदको रकम जुटाउने उल्लेख छ । उक्त रकम युरोपेली संघको युक्रेन सहयोग ऋणबाट वित्तपोषित हुनेछ । यसका लागि ‘जम्पस्टार्ट’ कार्यक्रम पनि प्रयोग गरिनेछ ।
क्षेप्यास्त्र उत्पादन तथा आपूर्तिको मुख्य ठेकेदार अमेरिकी कम्पनी लकहिड मार्टिन हुने विदेश मन्त्रालयले जनाएको छ । यो बिक्रीमा अमेरिकी सरकारको कुनै पनि रकम संलग्न नहुने पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
यसैबीच, जी–२० का विदेशमन्त्रीहरूको बैठकमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको उपस्थितिको विरोध गर्दै युरोपेली कूटनीतिज्ञहरूले औपचारिक तस्बिर खिच्ने क्रममा उभिन अस्वीकार गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोको आयोजनामा अमेरिकाको एटलान्टामा बैठक भइरहेको छ ।
बैठकमा बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डले लाभ्रोभलाई प्रत्यक्ष सम्बोधन गर्दै भने, ‘म रुसी विदेशमन्त्रीलाई स्पष्ट रूपमा भन्न चाहन्छु– यो युद्धको आक्रमणकारी को हो भन्ने कुरा हामी सबैलाई थाहा छ ।’
उनले युक्रेनमा निर्दोष नागरिकको हत्या गरेको भन्दै रुसी सरकारको आलोचना गरेका थिए ।
जेलेन्स्कीले यसै साताको सुरुतिर आफ्नो देशले अत्यावश्यक क्षेप्यास्त्र आपूर्तिका लागि अमेरिकी स्वीकृति पर्खिएको झन्डै एक महिना भएको बताएका थिए । उनका अनुसार युक्रेनसँग यस्ता क्षेप्यास्त्रको मौज्दात निकै कम हुँदै गएको छ ।
शुक्रबार राति सामाजिक सञ्जाल एक्समा लेख्दै उनले अमेरिकी घोषणाको स्वागत गरे पनि युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र ‘अहिले नै’ आवश्यक रहेको बताएका छन् ।
उनले जाडोयाम सुरु हुनुअघि रुसले युक्रेनका प्रमुख ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको पनि उल्लेख गरेका छन् । पछिल्ला दुई सातामा युक्रेनको विद्युत् प्रसारण प्रणालीका ‘महत्त्वपूर्ण भागहरू’ मा रुसले ३० भन्दा बढी आक्रमण गरेको उनको भनाइ छ ।
युक्रेनलाई यी इन्टरसेप्टर क्षेप्यास्त्र तत्काल आवश्यक भए पनि विश्वभर यसको अभाव छ । अमेरिकाले इरानसँगको युद्धमा समेत यी क्षेप्यास्त्र प्रयोग गरिरहेकाले अभाव थपिएको हो ।
नयाँ प्याट्रियट क्षेप्यास्त्र उत्पादनको समयतालिका भने स्पष्ट भइसकेको छैन । तर यो आदेशमा पहिले नै उत्पादन भइसकेका क्षेप्यास्त्र नभई नयाँ उत्पादन गरिने क्षेप्यास्त्र समावेश रहेको बुझिएको छ । त्यसैले युक्रेनले तत्काल आपूर्ति पाउने सम्भावना कम छ ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार प्याट्रियट क्षेप्यास्त्र उत्पादन गर्न लामो समय लाग्छ र वार्षिक करिब ६०० वटा मात्रै उत्पादन हुन्छन् ।
यसअघि जुलाईमा ट्रम्पले युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र उत्पादन गर्ने अनुमति दिने विषयमा वासिङ्टन सहमत नभएको बताएका थिए । त्यसको तीन साताअघि मात्रै उनले युक्रेनलाई यस्तो अधिकार दिने प्रस्ताव गरेका थिए।
