काठमाडौं। कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको सामाजिक हाँस्य चलचित्र ‘पच्चीस पच्चीस’ को शुभ मुहूर्त सम्पन्न भएको छ।
बुधबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो।
मुहूर्तसँगै बुधबारबाटै छायांकन पनि सुरु भएको छ। निर्देशक सुव्रत आचार्यका अनुसार छायांकन ४० दिनको तालिकामा सम्पन्न गरिनेछ।
चलचित्रमा अभिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी, निशा गौतम लगातयले अभिनय गर्दैछन्।
दार्जिलिङका हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा यस चलचित्रबाट अभिनयमा डेब्यू गर्दैछन्।

आचार्यले निर्देशन गरेको यो उनको तेस्रो चलचित्र हो। उनले यसअघि अधकट्टी र सुश्री सम्पत्ति निर्देशन गरिसकेका छन्।
कथा आचार्य र जयाको संयुक्त हो भने पटकथा सुशील देवकोटाले लेखेका छन्। छायांकन निर्देशन हरि हुमागाईंको छ।
कर्ण कार्कीले निर्माण गरेको यो फिल्म उनको दोस्रो निर्माण हो। उनले यसअघि ‘होस्टल ३’ निर्माण गरेका थिए।
कार्यकारी निर्माता दीपेन्द्र गौतम हुन्। सह-निर्माता धीरेन्द्रलाल कर्ण र मणिराज खड्का तथा लाइन प्रोड्युसर सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेल छन्।

