Paywear Banner Desktop
Paywear Banner Desktop

‘जलाकी’ को गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, उपासना र सोनमको छमछमी

काठमाडौं । ‘खुश्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’को तेस्रो गीत सार्वजनिक भएको छ। निर्माण टिमले ‘कलेजीको छेऊ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो।

गीतमा सुरेन्द्र रानाको शब्द, एसडी योगीको संगीत, मिक्सिङ तथा मास्टरिङ र रिकेश गुरुङको संगीत संयोजन छ। गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर छ।

गीतमा रत्न बीकले बाँसुरी, मदन रेग्मीले मादल तथा खैँजडी, शिशिर परियारले पञ्चेबाजा र हेमन्त कान्छा रसाइलीले सारङ्गी बजाएका छन्। गीतको रेकर्डिङ तथा मिक्सिङ सुपरभिजन सागर खड्काले गरेका हुन्।

प्रेमी र प्रेमिकाबीचको गहिरो प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा फिल्मका कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन र खड्कबहादुर पुन (खबपु) लगायत देखिएका छन्। भिडियोमा उपासना र सोनमको जोडी सुहाएको छ। अन्य कलाकारको पहिरन र स्वाभाविक हाउभाउले पनि भिडियोलाई रमाइलो बनाएको छ।

यसअघि फिल्मका ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका दुई गीत सार्वजनिक भइसकेका छन्। ती गीतले युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमा दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षको भनाइ छ। तेस्रो गीतले पनि दर्शक तथा श्रोताको उत्तिकै माया पाउनेमा निर्माण टिम विश्वस्त छ।

फिल्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ।

मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनेको स्तम्भलाई ‘जलाकी’ भनिन्छ। निर्देशक मगरका अनुसार यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनालाई फिल्ममा प्रस्तुत गरिएको छ।

फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर र उषा खड्गीलगायत कलाकारको अभिनय छ। यसै फिल्मबाट मिस सिक्किमका कारण चर्चामा आएकी साहारा हाङमा लिम्बूले नेपाली फिल्ममा डेब्यु गरेकी छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!