Paywear Banner Desktop
Paywear Banner Desktop
फिल्म समीक्षा

छ माया छपक्कै २ : समाज, राजनीतिलाई टिप्पणी गर्ने ‘पर्फेक्ट सिक्वेल’

शीर्षक पछाडि संख्या लेख्दैमा त्यो सिक्वेल नहुन सक्छ । तर, ‘छ माया छपक्कै २’ एक ‘पर्फेक्ट सिक्वेल’ हो । दृश्यभाषाको श्रृंखलाका आधारभूत विन्यासमा यो उत्कृष्ट ठहरिएको छ ।

काठमाडौं । फिल्मको हरेक श्रृंखलामा उत्कर्ष (क्लाइमेक्स) र रिजोलुसन (निष्कर्ष) हुन जरुरी छैन । कथालाई कसरी रोचक, विश्वसनीय र द्वन्द्वप्रधान बनाउनुहुन्छ, त्यो महत्वपूर्ण हो ।

किनभने, फिल्मको हरेक श्रृंखला एकापसमा जोडिएका हुन्छन् र तिनीहरू बग्छन् । दशैं फिल्म ‘छ माया छपक्कै २’ यस्तै एक समाज-राजनीतिलाई वर्तमानको आँखिझ्यालबाट भनिएको एक फिल्म हो, जुन मर्मस्पर्शी र दर्शनीय अवश्य छ ।

फिल्मको शीर्षक पछाडि संख्या लेख्दैमा त्यो सिक्वेल नहुन सक्छ । तर, ‘छ माया छपक्कै २’ एक ‘पर्फेक्ट सिक्वेल’ हो । दृश्यभाषाको श्रृंखलाका आधारभूत विन्यासमा यो उत्कृष्ट ठहरिएको छ ।

७ वर्षअघि रिलिज भएको पहिलो श्रृंखलामा हामीले फरक उमेरका दुई पात्रबीच विकसित हुने प्रेमसम्बन्ध देख्यौं । प्रेम र विवाहलाई व्यक्तिगत चाहनामा मात्र सीमित नराखी गाउँको सामाजिक संरचना, राजनीतिक स्वार्थ, पुस्तागत सोच र सामुदायिक समस्यासँग जोड्ने कथा देख्यौं ।

पानीको अभावजस्तो स्थानीय समस्याले समाज र राजनीतिमा पार्ने प्रभावसमेत देख्यौं । नेपाली समाजका केही विरोधाभासको चित्रण देख्यौं । दोस्रो श्रृंखलाले यिनै आयामको वरपर फन्को मार्छ ।

दोस्रो श्रृंखला ‘छ माया छपक्कै २’को केन्द्रमा अघिल्लो श्रृंखलामा स्थापित द्वन्द्व, चरित्र र मुल कथा चित्रण छ । ७ वर्षपछि यहाँसम्म आइपुग्दा हामीले फिल्मको अलग आयाम, गति र बदलिएको राजनीतिक र सामाजिक संरचना, पात्रको सपना र हैरानी देख्छौं ।

दोस्रो श्रृंखलाको केन्द्रीय द्वन्द्व मुख्य पात्रको अन्योलता हो । मुख्य पात्र (दीपकराज गिरी) सामु यसपटक दुई मात्र उपाय छन् । या त ऊ बाबुको विरासत पछ्याउँदै राजनीतिमा पुनः होमिनुपर्छ । या त ऊ, पत्नीको विदेशमा सेटल हुने सपनालाई पछ्याउँदै घरजमतिर अघि बढ्नुपर्छ ।

यी दुई परस्पर अन्तरविरोधी विचारसामु के मुख्य पात्रले आफूलाई उभ्याउन सक्ला ? अन्योलताको विन्दुमा आफूसामु उभिएका अवरोधलाई उसले कसरी चिर्न सक्छ ? ऊ असल छोरा वा असल पतिमध्ये के बन्ला ? या आमाको संस्कार पछ्याउँदै महाभारतको कृष्णजस्तै दुवै पक्षलाई सन्तुलन मिलाएर अघि बढ्ला ?

हामीले जे कुरा नेपाली फिल्ममा भएन-भएन भनेर भनिरहेका थियौं, त्यही द्वन्द्वको प्रशस्तता यसपटक प्रोटागोनिस्टसामु उपलब्ध गराइएको छ । जसको कारण फिल्मले अत्यसम्मै दर्शकलाई कौतुहल तुल्याउन सक्छ । मुख्य पात्र मात्र होइन, हरेक पात्रको आफ्नै संघर्ष र भोगाइ यसमा छ ।

निर्देशक र पटकथा लेखनको सन्तुलन दोस्रो श्रृंखलाको महत्वपूर्ण पक्ष हो ।

‘कमरेड’ पात्र र पार्टीमार्फत निर्देशक दीपेन्द्र लामाले जनता र देशको लागि भन्दै क्रान्ति गर्ने वाम दलहरू समयको गतिमा कसरी सिद्वान्तबाट च्यूत भए, कसरी नागरिकका मुद्दाबाट टाढिए, कसरी इमान्दार राजनीति गर्नेहरू पार्टीभित्र पाखा लगाइए भन्ने समकालिन राजनीति र नेतृत्वलाई प्रश्न गरेका छन् ।

घरेलु राजनीतिको वर्तमान आयाममा यो ‘बिलियन डलर’को प्रश्न अवश्य हो । समाज र राजनीतिलाई निर्देशक लामाले आफ्नो निर्देशकीय अप्रोचमार्फत प्रस्तुत गरेका छन् ।

विशेषगरि, क्रान्तिमार्फत आएका इमान्दार राजनीतिज्ञहरू कसरी पार्टीभित्र सीमान्तकृत पारिएका छन् र उनीहरू सिद्धान्तलाई पछ्याउने कि निरन्तरता दिने भन्ने अन्योलमा बाँचिरहेका छन्, यो महत्वपूर्ण प्रश्न हो ।

दोस्रो श्रृंखलाले अर्को एक कुराको पुष्टि गर्छ– दीपकराज गिरी कुशल अभिनेता मात्र होइनन, कुशल पटकथा लेखक पनि हुन् । हुन त उनले यसअघि पनि फिल्महरू लेखेका छन् । यसपटक भने- उनले कथालाई जसरी पटकथाको रुप दिएका छन् त्यो प्रशंसनीय छ ।

फिल्ममा ‘फस्ट हाफ’ र ‘सेकेन्ड हाफ’ भन्ने हुँदैन । व्यवसायिक नाफाका कारण हलले हाफ टाइम दिएपनि फिल्मलाई समग्रतामा बुझ्नुपर्छ, अन्तर्राष्ट्रिय अभ्यास पनि यही हो । ‘छ माया छपक्कै २’ फस्ट हाफ र सेकेन्ड हाफमा होइन, सिंगोपनमा हेर्नलायक छ र दशैंमा उत्कृष्ट मनोरञ्जनको डोज बन्न सक्छ ।

दीपकसहित केकी अधिकारी, सनिशा भट्टराई, रिहान गिरी, निर्मल शर्मा लगायतको अभिनय प्रशंसनीय छ । विशेषगरि, केकीको अभिनय बलशाली अवश्य छ । ‘थ्री एक्ट’ मै उनले जसरी आफूलाई प्रस्तुत गरेकी छन्, यो लोभलाग्दो पक्ष हो ।

‘भ्वाइस अफ नेपाल’को मञ्चबाट आफूलाई उदीयमान रकस्टारको रुपमा सावित गरिसकेका भुटानी एक्टर तथा गायक रिहानको अभिनय अर्को सशक्त पक्ष हो । उनी लामो रेसको घोडा बन्न सक्छन् ।

चलचित्र पटकथा र त्यसको विवरण मात्र होइन, ‘छ माया छपक्कै २’ मा हामीले प्राविधिक पाटोलाई पनि नियाल्न सक्छौं । सिनेमाटोग्राफी (छायांकन) र सम्पादन, कास्टिङ, सेट डिजाइन, कस्ट्युम र पाश्र्वध्वनि यसका आकर्षक प्राविधिक पक्ष हुन् । प्राविधिक पक्षले पनि दर्शकलाई त्यो भव्यता पक्कै दिन्छ ।

जसरी, फिल्मलाई टुंग्याइएको छ, त्यसले दर्शकलाई अर्को श्रृंखलाको लागि कौतुहलता अवश्य दिन्छ । २०८४ सालको दशैंमा फिल्म आउने भनिएको छ । फिल्म रिलिजको कुरा व्यवस्थापनको पक्ष हो यद्यपि, जहिले आएपनि ‘छ माया छपक्कै २’ दर्शकका लागि अर्को पर्खाइको शिल्प अवश्य बनेको छ ।

निष्कर्ष- ‘नेपालमा समाज र राजनीतिमाथि कमै फिल्म बन्छन् । तीमध्ये उत्कृष्ट र दर्शनीय ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी २
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!