काठमाडौं । चर्चित पटकथा लेखक शिवम अधिकारी ११ वर्षपछि फिल्म निर्देशनमा फर्किएका छन् । उनको आगामी फिल्म ‘सेतो कोट’को शुक्रबार औपचारिक घोषणा गरियो ।
यसअघि सुश्री, पञ्चायत र कोपिला निर्देशन गरेका अधिकारीको यो चौंथो निर्देशकीय प्रोजेक्ट हुनेछ । सन् २०१९ मा अधिकारी निर्देशित ‘पञ्चायत’ ९१ औं अस्कर अवार्डमा नेपालबाट सिफारिस भएको थियो ।
७० भन्दा धेरै फिल्ममा संलग्न भैसकेका अधिकारीको आगामी फिल्म ‘सेतो कोट’ लाई मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइको फिल्म भनिएको छ ।
मिनु शर्मा प्रोडक्सनको प्रस्तुति, अधिकारीको लेखन तथा निर्देशनमा बन्ने फिल्मको मुहूर्त शुक्रबार तुलसी विवाहको साइत पारेर कोटेश्वर महादेवस्थान मन्दिरमा गरियो ।
निर्मात्री शर्माको यो दोस्रो फिल्म हो । ‘यो फिल्मलाई लिएर म उत्साहित छु’ शर्माले भनिन् । फिल्ममा डेब्यू गर्दै गरेकी ूमाइली बुहारीू नामले परिचित सुमित्रा दाहालले आफूलाई हँसाउन भन्दा रुवाउन नै सहज हुन्छ होला भन्दै निर्माताले कुरा गरेर फिल्ममा जोडिएको बताइन् ।
सेतो रङ्को अभाव भइरहेको समयमा यो फिल्मले सेतोपना बचाउने अपेक्षा अभिनेता शाहको छ । कलाकार अशोक दर्जीले यो टिमसँग काम गर्न उत्साहित रहेको बताए ।

अभिनेत्री पूजा शर्माले फिल्मलाई लिएर उत्साह व्यक्त गरिन् । निर्देशन गर्न बढी मेहनत गर्नुपर्ने भन्दै स्क्रिप्टकै काममा व्यस्त शिवमले यस पटक समय छुट्टाएर निर्देशन गर्न लागेका रहेछन् ।
नेपाली फिल्ममा कमै मात्र उठान गरिने विषयलाई मनोरञ्जनात्मक तथा प्रभावशाली सिनेम्याटिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य फिल्मको रहेको निर्देशक अधिकारीले बताए ।
‘कथाको मूल भाव र घटनाक्रमलाई रहस्यपूर्ण राख्दै दर्शकलाई सोच्न, महसुस गर्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने विश्वास निर्माण पक्षले लिएको छ’ प्रेषित विवरणमा जनाइएको छ ।
निर्मातामा मिनु शर्मा ‘सपना’ तथा सन्देश थापा ‘काजी’ छन् भने कार्यकारी निर्माता फणीन्द्र तामाङ हुन्।
फिल्ममा पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हल्दार, सुशान्त श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे, सुप्रिया शर्मालगायतको अभिनय रहनेछ।
छायाङ्कन काठमाडौँ, मकवानपुरलगायतका थलोमा गरिने भएको छ । छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सम्पादन बन्दे प्रसादको रहनेछ। सङ्गीत स्टिभ शङ्करले तयार गर्नेछन्।
