काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय उनले इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीको सात नम्बरको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन्।
सन् २००३ को अगस्टमा पोर्चुगलका लागि डेब्यू गरेका रोनाल्डोले २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियर टुंग्याउने निर्णय गरेका हुन्। उनले पोर्चुगलका लागि २ सय ३४ खेल खेल्दै कीर्तिमानी १ सय ४६ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने दुवै विश्व कीर्तिमान रोनाल्डोकै नाममा छ।
रोनाल्डोले आफ्नो सन्देशमा राष्ट्रिय टोलीको सात नम्बरको जर्सी लगाउनु आफ्नो लागि विशेष जिम्मेवारी र सौभाग्य रहेको उल्लेख गरेका छन्। उनले २३ वर्षसम्म उक्त जर्सी लगाउने, त्यसको रक्षा गर्ने र विश्वका विभिन्न रंगशालामा पोर्चुगलको प्रतिनिधित्व गर्ने अवसर पाएको बताएका छन्।
उनले यो निर्णय सहज नभएको उल्लेख गर्दै अब सात नम्बरको जर्सी भविष्यको पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्।
गत महिना डेनमार्कविरुद्ध नेसन्स लिगको खेलमा सुरुवाती ११ मा नपर्ने जानकारी पाएपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडेका थिए। सन् २०१६ मा पोर्चुगललाई पहिलो पटक युरोकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डोको संन्यास घोषणासँगै पोर्चुगिज फुटबलको एउटा ऐतिहासिक अध्याय अन्त्य हुने भएको छ।
