सोल-सिड्नी । विश्वकै मूल्यवान् चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ विदेशी गुप्तचर प्रयासको निशानामा परेको हुन सक्ने विषयमा आन्तरिक अनुसन्धान सुरु भएपछि कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
सोमबार कारोबार सुरु भएलगत्तै एनभिडियाको सेयर करिब ८ प्रतिशतले घटेको छ। यससँगै गत सातादेखि जारी सेयर बिक्रीको दबाब थपिएको छ र कम्पनीको सेयर मूल्य पछिल्ला केही महिनायताकै न्यून विन्दुमा पुगेको छ। हालको मूल्यअनुसार कम्पनीको बजार पुँजीकरण पछिल्लो कारोबार बन्द हुँदाको तुलनामा करिब ३५० अर्ब अमेरिकी डलरले घट्ने अनुमान छ।
अनुसन्धानको पृष्ठभूमिमा हुआङको एक चिनियाँ व्यवसायीसँगको निकट सम्बन्धबारे प्रकाशित समाचार छ। ती व्यवसायीले बेइजिङलाई सूचना उपलब्ध गराएको आरोप छ। एनभिडियाले आइतबार आन्तरिक अनुसन्धान सुरु भएको घोषणा गरेको थियो।
हुआङले एनभिडियाका कर्मचारीहरूलाई आफूले पत्नीप्रति बेइमानी गरेको बताएका छन्। तर, उनले उक्त सम्बन्धबारे थप विवरण खुलाएका छैनन्।
विश्वकै मूल्यवान् चिप निर्माता कम्पनीको नेतृत्व गरिरहेका हुआङको भविष्यलाई लिएर अनुसन्धानले चासो बढाएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारका क्रममा उनी यस क्षेत्रका सबैभन्दा प्रभावशाली व्यावसायिक प्रवक्तामध्ये एक मानिन्छन्।
छालाको ज्याकेट लगाउने शैलीका लागि परिचित हुआङले विश्वभर, विशेषगरी एसियामा रकस्टारजस्तै लोकप्रियता कमाएका छन्। उनी प्रशंसकहरूसँग सहज रूपमा घुलमिल हुने, सेल्फी खिच्ने र अटोग्राफ दिने गर्छन्।
एलएसईजीको तथ्यांकअनुसार हुआङसँग एनभिडियाको करिब ३.६ प्रतिशत सेयर छ। उनी कम्पनीका पाँचौँ ठूला सेयरधनी हुन्। दर्जनौँ उच्च अधिकारीले सीधै उनलाई रिपोर्ट गर्ने असामान्य रूपमा समतल व्यवस्थापकीय संरचनामार्फत उनले कम्पनीमाथि बलियो नियन्त्रण कायम राखेका छन्।
तर, मेटा प्लेटफर्म्स वा स्पेसएक्सको तुलनामा एनभिडियामा दोहोरो वर्गका सेयर (डुअल क्लास सेयर) व्यवस्था छैन। यस्तो व्यवस्थाले संस्थापकलाई बहुमत मतदान अधिकार कायम राख्न मद्दत गर्छ।
अनुसन्धानको असर दक्षिण कोरियासम्म पुगेको छ। हुआङकी छोरी तथा एनभिडियाकी कार्यकारी म्याडिसन हुआङले सोमबार सुरु हुने कम्पनीको एक सम्मेलनका लागि तय गरेको सोल भ्रमण रद्द गरेकी छन्। उनले भेट्ने कार्यक्रम तय भएका कम्पनीहरूले यसबारे जानकारी दिएका हुन्।
‘बजारले अहिले यो घटनाले कम्पनीको सेयरलाई कुनै फाइदा नगर्ने संकेत गरिरहेको छ। विशेषगरी डेटा सेन्टर विस्तारबारे विभिन्न अड्कलबाजी भइरहेका बेला यसको असर परेको छ,’ अस्ट्रेलियाको मेलबर्नस्थित ब्रोकरेज कम्पनी पेपरस्टोनका अनुसन्धान प्रमुख क्रिस वेस्टनले भने।

यद्यपि, उनले एआईका ‘गडफादर’ भनेर वर्णन गरेका हुआङलाई पदबाट हटाइने सम्भावना आफूले नदेखेको बताए।
‘यदि उनी साँच्चिकै पदबाट हट्ने अवस्थामा छन् भन्ने हामीलाई लाग्थ्यो भने सेयर मूल्य अझै धेरै घट्ने थियो। वास्तवमा भन्ने हो भने त्यो ठूलो विनाशकारी गिरावट हुने थियो,’ उनले भने।
एनभिडियाले आफ्नो सञ्चालक समितिको हुआङप्रति विश्वास रहेको जनाएको छ। केही विश्लेषकले भने उनले पद छाड्ने निर्णय गरेमा कम्पनीभित्र उनको स्वाभाविक उत्तराधिकारी कोही नरहेको बताएका छन्।
द न्युयोर्क टाइम्सले गत महिना हुआङको सिंगापुरस्थित कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग सम्बन्ध रहेको समाचार प्रकाशित गरेको थियो। उनीहरूबीच पारिवारिक सम्बन्ध रहेको उल्लेख छैन। अमेरिकी अधिकारीहरूले एलिसमाथि अनुसन्धान गरी उनलाई चिनियाँ गुप्तचर निकायको सहयोगी भएको निष्कर्ष निकालेको समाचारमा उल्लेख थियो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले यस आरोपलाई अस्वीकार गरेका छन्।
‘तथाकथित चिनियाँ जासुसको कथा पूर्ण रूपमा आधारहीन आरोप, बदनामी र चरित्रहत्या हो,’ उनले बेइजिङमा पत्रकारहरूसँग भने।
सिंगापुरमा सोमबार सार्वजनिक बिदा भएकाले मेगास्पिडले तत्काल टिप्पणीका लागि गरिएको अनुरोधको जवाफ दिएको छैन। एलिस हुआङले पनि द न्युयोर्क टाइम्सले गत महिना पहिलोपटक समाचार प्रकाशित गर्दा प्रतिक्रिया दिएकी थिइनन्। रोयटर्सले सोमबार उनीसँग प्रतिक्रिया लिन उनको ठेगाना पत्ता लगाउन सकेन।
एसियाली साझेदार कम्पनीका सेयरमा सुधार
एनभिडियाका प्रमुख एसियाली चिप आपूर्तिकर्ता कम्पनीहरूको सेयर मूल्यमा भने सोमबार सुधार आएको छ। गत साता एआईसम्बन्धी कम्पनीका सेयरमा आएको गिरावटपछि ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी ९टीएसएमसी०को सेयर ४।७ प्रतिशतले बढेर बन्द भएको छ।
त्यस्तै, सामसङ इलेक्ट्रोनिक्सको सेयर ०.६ प्रतिशत र एसके हाइनिक्सको सेयर ०.४ प्रतिशतले बढेको छ।
हुआङले आफ्नो वैवाहिक सम्बन्धबारे दिएको स्वीकारोक्तिमा केही चर्चित व्यक्तिले पनि प्रतिक्रिया जनाएका छन्।
अर्बपति लगानीकर्ता तथा पर्सिङ स्क्वायर क्यापिटल म्यानेजमेन्टका संस्थापक बिल एकम्यानले सामाजिक सञ्जाल एक्समा हुआङलाई ‘असाधारण व्यक्ति’ भनेका छन्। तर, यो सम्बन्ध सामान्य वैवाहिक सम्बन्धबाहिरको सम्बन्धभन्दा बढी भएको पुष्टि भएमा त्यो गम्भीर समस्या हुने उनको भनाइ छ।
‘म यो केवल सामान्य प्रेम सम्बन्ध होस्, हाम्रो राष्ट्रिय सुरक्षाका लागि जोखिम नबनोस् भन्ने आशा गर्छु,’ उनले लेखेका छन्।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले पनि प्रतिक्रिया दिएका छन्। उनले सेक्वोइया पार्टनर शन माग्वायरको एउटा पोस्टमा सहमति जनाउँदै ‘म सहमत छु’ लेखेका थिए।
माग्वायरले हुआङले ‘अत्यन्तै मूर्खतापूर्ण काम’ गरेको र त्यो अमेरिकाका लागि नराम्रो भएको बताएका थिए। तर, अमेरिकाको एआई नेतृत्वका लागि हुआङको विकल्प नभएको उनको भनाइ थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफूले हुआङसँग यी आरोपबारे कुराकानी नगरेको बताएका थिए। तर, उनले हुआङलाई असल व्यक्ति भन्दै उनको कामको प्रशंसा गरेका थिए।
‘मलाई आशा छ, सबै कुरा ठीक हुनेछ। उनले असाधारण काम गरेका छन्,’ ट्रम्पले भने।
गुप्तचर निकायबाट जानकारी पाएपछि आफूले यस विषयमा कदम चाल्नुपर्ने थियो भन्ने प्रश्नमा ट्रम्पले असहमति जनाए।
‘होइन, मलाई त्यस्तो लाग्दैन। उनी सम्मानित व्यक्ति हुन्। मलाई लाग्छ, उनीसँग यसको कुनै कारण हुन सक्छ। तपाईंले उनको कुरा सुन्नुपर्छ,’ उनले भने।
द न्युयोर्क टाइम्सका अनुसार ट्रम्पलाई करिब एक वर्षअघि नै गुप्तचर निकायको अनुसन्धानसम्बन्धी निष्कर्षबारे जानकारी गराइएको थियो। तर, उनले त्यसबारे कुनै कदम चालेका थिएनन्।
म्याडिसन हुआङको दक्षिण कोरिया भ्रमण रद्द
म्याडिसन हुआङले सुरुमा दक्षिण कोरियाको एआई स्टार्टअप कम्पनी रिबेलियन्सको भ्रमण गर्ने र काकाओ मोबिलिटीसँग प्रश्नोत्तर कार्यक्रम गर्ने योजना बनाएकी थिइन्।
रिबेलियन्सले एनभिडियाभित्रका ‘अपरिहार्य आन्तरिक परिस्थितिका कारण’ कार्यक्रम रद्द भएको जनाएको छ।
दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार करिब २ हजार सहभागी जुट्ने अपेक्षा गरिएको दुईदिने ‘एनभिडिया एआई डे सोल’ कार्यक्रम भने पूर्वनिर्धारित योजनाअनुसार सञ्चालन हुनेछ। कार्यक्रममा फिजिकल एआई, एजेन्टिक एआई र पूर्वाधारबारे छलफल हुने बताइएको छ। एनभिडियाले यसबारे तत्काल प्रतिक्रिया दिएको छैन।
विश्लेषकहरूका अनुसार अनुसन्धान वा आन्तरिक समीक्षा लामो समयसम्म जारी रहेमा एनभिडियाको लगानीसम्बन्धी निर्णय र नयाँ उत्पादन सार्वजनिक गर्ने योजनामा ढिलाइ हुन सक्छ। यसको प्रभाव समग्र सेमिकन्डक्टर उद्योगमा समेत पर्न सक्छ।
एनएच इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका वरिष्ठ विश्लेषक र्यु यङ(होले एनभिडियाका प्रतिस्पर्धी कम्पनीहरू, विशेषगरी एड्भान्स्ड माइक्रो डिभाइसेज ९एएमडी०ले छोटो अवधिमा बढी ध्यान आकर्षित गर्न सक्ने बताए। एएमडीसँग नजिकको व्यावसायिक सम्बन्ध रहेको सामसङ पनि यसबाट लाभान्वित हुन सक्ने उनको भनाइ छ।
तर, एनभिडियाका उत्पादनलाई प्रतिस्थापन गर्न कठिन रहेकाले घटनाको सम्भावित प्रभाव सीमित हुन सक्ने उनले बताए। यद्यपि, घटनाक्रम कसरी अघि बढ्छ भन्ने आधारमा चीनतर्फ हुने चिप आपूर्तिमा थप ढिलाइ हुन सक्ने उनको भनाइ छ।
दक्षिण कोरियाका उपविज्ञानमन्त्रीले भने कम्पनीले सामना गरिरहेको वर्तमान समस्याका बाबजुद एनभिडियाका ग्राफिक्स प्रोसेसिङ युनिट ९जीपीयू०को सम्झौताअनुसार हुने आपूर्तिमा कुनै अवरोध नआउने सरकारको अपेक्षा रहेको सोमबार बताएका छन्।
