न्यूयोर्क । नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ ले मेक्सिको, दक्षिण कोरिया र पोर्चुगलमा प्रदर्शन अधिकार बिक्री गरेको छ। यससँगै फिल्मको अन्तर्राष्ट्रिय बजार १७ देशमा विस्तार भएको छ।
अन्तर्राष्ट्रिय बिक्री कम्पनी बेस्ट फ्रेन्ड फरेभरले तीन देशमा नयाँ वितरण सम्झौता गरेको हो। मेक्सिकोमा टुलिप, दक्षिण कोरियामा फिल्म डाबिन र पोर्चुगलमा लियोपार्डो फिल्म्सले फिल्म वितरण गर्नेछन्।
उत्तर अमेरिकी प्रदर्शन अधिकारका लागि भने छलफल भइरहेको छ।
यसअघि फिल्मको प्रदर्शन अधिकार बेलायत, स्पेन, बेनेलक्स क्षेत्र, स्विट्जरल्यान्ड, इजरायल, अस्ट्रेलिया, भारत, इन्डोनेसिया, फिलिपिन्स, फ्रान्स, जर्मनी, अस्ट्रिया, ब्राजिल र नेपालमा बिक्री भइसकेको थियो। सिल्क रुटसँग हवाई उडानमा प्रदर्शन गर्ने अधिकारसम्बन्धी सम्झौता पनि भएको छ।
फिल्मको अस्कर अभियानअन्तर्गत समुदायको अधिकार र नीतिगत बहसलाई केन्द्रमा राखेर विभिन्न प्रभावमूलक प्रदर्शन आयोजना भइरहेका छन्। यही अभियानको पछिल्लो कार्यक्रम नोभेम्बर २० मा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको थियो।
ट्रान्सजेन्डर स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा फिल्म प्रदर्शन गरिएको थियो। संयुक्त राष्ट्रसंघका लागि नेपाल, नर्वे, फ्रान्स र ब्राजिलका स्थायी नियोग तथा आउट्राइट इन्टरनेसनलले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका थिए।
कार्यक्रमको सुरुवात संयुक्त राष्ट्रसंघका लागि नेपालका उपस्थायी प्रतिनिधि ज्ञानबहादुर मगरले गरेका थिए। उनले लैंगिक पहिचानका कारण मारिएका व्यक्तिहरूको स्मरण गर्दै नेपालमा एलजीबीटीआईक्यूं अधिकारका क्षेत्रमा काम गर्ने ब्लु डायमन्ड सोसाइटीजस्ता संस्थाको योगदानको प्रशंसा गरे।
उनले गत अगस्टमा नेपालमा आएको बाढीका बेला सीमित स्रोतसाधनका बाबजुद समुदायका संस्थाहरूले गरेको कामको पनि चर्चा गरे।
‘एलजीबीटीआईक्यूं व्यक्तिहरू नीतिका लाभग्राही मात्र होइन, निर्णय निर्माण प्रक्रियाका साझेदार हुनुपर्छ,’ उनले भने, ‘कारबाहीबिनाको स्मरण पर्याप्त हुँदैन। संरक्षणबिनाको पहिचान पनि पर्याप्त हुँदैन।’
फिल्मकी मुख्य अभिनेत्री तथा सन् २००५ देखि ब्लु डायमन्ड सोसाइटीसँग आबद्ध अधिकारकर्मी पुष्पा थिङ लामाले भिडियो सन्देशमार्फत कार्यक्रममा सम्बोधन गरेकी थिइन्।
त्यसपछि ‘कसैलाई पनि पछाडि नछाड्ने- मानवीय सहायता प्रतिक्रियामा लैंगिक तथा यौनिक अल्पसंख्यकको समावेशिता’ विषयमा छलफल भएको थियो।
छलफलमा नेपालकी पहिलो ट्रान्सजेन्डर मोडल अञ्जली लामा, यूएन वुमनको नागरिक समाज विभागका उपनिर्देशक विवेक राई, आउट्राइट इन्टरनेसनलका संयुक्त राष्ट्रसंघीय कार्यक्रम निर्देशक आन्द्रे डु प्लेसिस र फिल्मकी इम्प्याक्ट प्रोड्युसर आना सेको डियाज सहभागी थिए।

डु प्लेसिसले संयुक्त राष्ट्रसंघ र राजनीतिक बहसमा ट्रान्सजेन्डर व्यक्तिहरूलाई वास्तविक मानिसका रूपमा भन्दा पनि एउटा विचारधाराका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति रहेको बताए। यस्तो अवस्थामा वास्तविक व्यक्तिहरूलाई बहसको केन्द्रमा ल्याउनु महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
अञ्जली लामाले भनिन्, ‘समावेशिता दया वा परोपकारको विषय होइन। यो मानवअधिकारको विषय हो।’
कार्यक्रममा फिल्मलाई मानवीय सहायता र विपद् व्यवस्थापनमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सहभागितासम्बन्धी बृहत् बहससँग जोडिएको थियो।
गत अगस्टमा नेपालमा बाढी र पहिरोका कारण ९८७ जनाको मृत्यु भएको थियो भने ३ हजार ९१६ जना बेपत्ता भएका थिए। विपद्का बेला लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले कानुनी रूपमा प्राप्त संरक्षणसमेत आपत्कालीन सहायता प्रक्रियामा प्रभावकारी रूपमा कार्यान्वयन नभएको अनुभव गरेका थिए।
यौनिक झुकाव तथा लैंगिक पहिचानसम्बन्धी संयुक्त राष्ट्रसंघका स्वतन्त्र विज्ञ ग्रेम रिडले गत महिना महासभामा प्रस्तुत गरेको प्रतिवेदनले मानवीय संकटका बेला एलजीबीटी समुदायले थप बहिष्करणको सामना गर्नुपर्ने उल्लेख गरेको थियो।
रिडका अनुसार आपत्कालीन सहायता प्रणालीमा ट्रान्सजेन्डर व्यक्तिहरू प्रायः अदृश्य रहने गरेका छन्। संकटबाट सबैभन्दा बढी प्रभावित समुदायलाई नै त्यसको प्रतिकार्य योजना निर्माणमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को बजेट कटौतीपछि ब्लु डायमन्ड सोसाइटीले आफ्ना ३५० कर्मचारीमध्ये २६२ जनालाई कामबाट हटाउनुपरेको थियो। संस्थाले आफ्ना २१ वटा क्लिनिकसमेत बन्द गर्नुपरेको थियो।
निर्देशक अविनाशविक्रम शाहले फिल्मको उद्देश्यबारे भनेका छन्, ‘यदि यो फिल्मले पूर्वाग्रहको कुहिरोलाई अलिकति भए पनि हटाउन सक्छ र कसैलाई अर्को व्यक्तिलाई वा सायद आफैंभित्रको कुनै अंशलाई वास्तविक रूपमा देख्न मद्दत गर्छ भने मलाई लाग्छ, यसले अर्थपूर्ण काम गरेको छ।’
फिल्मको अन्तर्राष्ट्रिय अभियान डिसेम्बर १ अर्थात् विश्व एड्स दिवसका दिन बेलायतको लन्डनमा जारी रहनेछ। बेलायतको एलजीबीटीक्यूं सिनेमा आर्जनरसँगको सहकार्यमा टेरेन्स हिगिन्स ट्रस्ट र एम्नेस्टी यूकेको क्वियर राइट्स नेटवर्कले कार्यक्रम आयोजना गर्नेछन्।
कार्यक्रमबाट संकलित रकम टेरेन्स हिगिन्स ट्रस्ट र ब्लु डायमन्ड सोसाइटीलाई प्रदान गरिनेछ। अन्तर्राष्ट्रिय सहायता बजेट कटौतीले ब्लु डायमन्ड सोसाइटीजस्ता समुदायमा आधारित संस्थालाई पारेको प्रभावबारे जानकारी दिन बेलायती संसद्का सदस्यहरूलाई पनि आमन्त्रण गरिएको छ।
डिसेम्बर ३ मा फिल्म इन्डिपेन्डेन्टले लस एन्जलसमा आफ्नो ‘प्रोग्रामर्स पिक्स’ शृंखलाअन्तर्गत फिल्म प्रदर्शन गर्नेछ।
कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा जुरी पुरस्कार जितेको यो फिल्म यस वर्षको अस्कर अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि नेपालको आधिकारिक छनोट हो। कान्समा प्रदर्शन भएयता फिल्मले न्यूफेस्टमा ग्रान्ड जुरी पुरस्कारसमेत जितिसकेको छ।
फिल्मकी मुख्य अभिनेत्री पुष्पा थिङ लामाले एसिया प्यासिफिक स्क्रिन अवार्डमा उत्कृष्ट अभिनयको पुरस्कार प्राप्त गरेकी छन्। फ्रान्समा फिल्मले ८० हजारभन्दा बढी दर्शक पाइसकेको छ। नेपाली फिल्मका लागि यो अहिलेसम्मकै अभूतपूर्व दर्शक संख्या भएको समाचारमा उल्लेख छ।
अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरू’ सन् २०२२ को कान्स सर्ट फिल्म प्रतियोगितामा विशेष उल्लेख प्राप्त गरेको लघु फिल्म ‘लोरी’का निर्देशकसमेत रहेका शाहको पछिल्लो फिल्म हो।
नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको सहकार्यमा बनेको फिल्मलाई अन्डरग्राउन्ड टाकिज नेपाल, लेस भाल्सर र डीजीएसले निर्माण गरेका हुन्। सहनिर्माताका रूपमा एनक्वाड्रामेन्टो प्रोडुसोइस, बबल्स प्रोजेक्ट, जिस्लरम्यान फिल्मप्रोडक्सन, स्टोर्म फिल्म्स र जयन्ती क्रिएसन्स छन्।
फिल्मको अन्तर्राष्ट्रिय बिक्री अधिकार बेस्ट फ्रेन्ड फरेभरले सम्हालेको छ।
हाल फिल्म भारतको गोवामा भइरहेको इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डियामा प्रदर्शन भइरहेको छ।
