Paywear Banner Desktop
Paywear Banner Mobile

‘जलाकी’ मगर फिल्म होइन, विशुद्ध नेपाली लभस्टोरी हो : निर्देशक अशोक थापा

काठमाडौं । निर्देशक अशोक थापामगरले आफ्नो पछिल्लो फिल्म ‘जलाकी’ मगर फिल्म नभई मगर संस्कृतिमा आधारित विशुद्ध नेपाली प्रेमकथा भएको बताएका छन्। फिल्मलाई मगर समुदायको कथामा आधारित फिल्मका रूपमा बुझ्ने गरिएको हुनसक्ने भन्दै उनले त्यसो नसम्झन दर्शकलाई आग्रह गरेका छन्।

कोलिग्राम पोस्टसँग कुरा गर्दै निर्देशक थापामगरले फिल्मले अपेक्षा गरेअनुसार युवा दर्शक हलसम्म नआएको बताए। युवामाझ प्रचारप्रसार पर्याप्त हुन नसकेको वा फिल्म मगर समुदायको मात्र कथा हो भन्ने भ्रम परेको हुनसक्ने उनको भनाइ छ।

‘हामीले अपेक्षा गरेजस्तो युवा दर्शक आइदिएनन्। तर, यो विशुद्ध नेपाली लभस्टोरी फिल्म हो। युवासामु प्रचारप्रसार नपुगेको वा उनीहरूलाई यो मगर फिल्म भएको हुनसक्ने भ्रम रहेको हुनसक्छ। यो मगर फिल्म होइन। मगर संस्कृतिलाई मात्र आधार बनाइएको हो। कथा चाहिँ नेपाली फिल्म नै हो,’ उनले भने।

उपासना सिंह ठकुरी, सोनाम तोप्देन र लुनिभा तुलधरसहितका कलाकारको अभिनय रहेको फिल्ममा वैदेशिक रोजगारी तथा घरेलु कामदारका रूपमा विदेश पुगेका पात्रहरूले भोग्नुपर्ने दुःख र संघर्षको कथा समेटिएको निर्देशकले बताए।

थापामगरका अनुसार फिल्मको सुरुआती प्रदर्शनमा दर्शकको उपस्थिति अपेक्षाअनुसार हुन सकेन। सुरुमा राम्रा शो पाए पनि अकुपेन्सी भने सोचेजस्तो नभएको उनले बताए।

फिल्मको ओपनिङ प्रभावित हुनुमा दर्शकमा परेको सांस्कृतिक पहिचानसम्बन्धी भ्रमसँगै नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पनि एउटा कारण हुनसक्ने उनको अनुभव छ।

‘यो फिल्म मगर फिल्म हो भन्ने प्रभाव फिल्मको ओपनिङदेखि नै परेको हुनसक्छ। सुरुमा राम्रो शो निस्किए पनि अकुपेन्सी सोचेजस्तो भएन। एनपीएल फाइनल पनि पर्‍यो। त्यसले पनि ओपनिङमा असर गरेको अनुभूति भएको हो,’ उनले भने।

यद्यपि, फिल्म हेरेका दर्शकबाट भने सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्देशक थापामगरले बताए। दर्शकले आफ्नो अघिल्लो फिल्म ‘खुश्मा’ भन्दा ‘जलाकी’ राम्रो लागेको प्रतिक्रिया दिएको उनको भनाइ छ।

उपासना सिंह ठकुरी र सोनाम तोप्देन मुख्य भूमिकामा रहेको ‘जलाकी’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!