काठमाडौं । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५’ ले दशैं बिदाको बक्सअफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । शुक्रबारदेखि देशब्यापी रिलिज हुन लागेको यो फिल्मको बिहीबार बेलुकासम्मको एड्भान्स टिकट बिक्रीको ट्रेन्ड हेर्दा यसले घरेलु बक्सअफिसमा उत्कृष्ट ओपनिङ गर्ने देखिएको छ ।
दयाहाङ राई स्टारर फिल्मको शुक्रबारको कुल शोज संख्या २३० छ । अहिले नेपालका हलमा प्रदर्शन भैरहेका ‘छ माया छपक्कै २’ को ११६ शोज, ‘आबाट आमा २’ को ११२ र ‘१२ गाउँ २’ को ६० शोज तय छन् । विशेषगरि, ‘१२ गाउँ २’को शोज संख्यामा भारी गिरावट देखिएको छ ।
चर्चित र प्रसिद्ध फ्रेन्चाइजको पाँचौ श्रृंखला भएकाले पनि दर्शकमाझ ‘कबड्डी : आफ्टर द फाइनल म्याच’ प्रतीक्षित छ । जसरी तीव्ररुपमा एड्भान्स बुकिङको ट्रेन्ड देखिएको छ, यसले दर्शकमाझ फिल्मको पर्खाइ उत्साहजनक रहेको कुरामा बल मिल्छ ।
काठमाडौं, पोखरा, बुटवल, चितवन लगायतका मध्य नेपालका सहर तथा दमक, इटहरीसहितका पूर्वी नेपालका हलमा फिल्मका लगभग सबै शोज सोल्डआउटको स्थितीमा देखिएका छन् । यद्यपि, नेपालगञ्जसहितका पश्चिमा सहरका हलमा भने पूर्वको भन्दा अकुपेन्सी न्यून देखिन्छ ।
यो फिल्म शुक्रबारदेखि नै नेपालसहित खाडी मुलुकहरू र अमेरिकाका ४० सहरबाट समेत प्रदर्शनमा आउने वितरकहरूले जनाएका छन् ।