काठमाडौं । १३ वर्षको प्रतीक्षापछि लोकप्रिय भिडियो गेम फ्रेन्चाइज ग्रान्ड थेफ्ट अटो (जीटीए) को नयाँ संस्करण जीटीए-६ सार्वजनिक भएको छ। निर्माणमा अनुमानित एक अर्ब डलर वा त्योभन्दा बढी खर्च भएको यो गेमलाई भिडियो गेम इतिहासकै सबैभन्दा प्रतीक्षित रिलिज मानिएको छ।
न्युजिल्यान्डमा मध्यरात सुरु भएसँगै गेम अनलाइन उपलब्ध भएको थियो। त्यसको केही घण्टापछि अस्ट्रेलियामा पनि सार्वजनिक भयो। अन्य देश तथा क्षेत्रमा स्थानीय समयअनुसार क्रमशः यसको रिलिज सुरु भएको छ। गेमको मुख्य परिवेशका रूपमा रहेको मियामी भने सार्वजनिक हुने अन्तिम स्थानमध्ये एक हुनेछ।
लाखौँ खेलाडीले गेम सार्वजनिक हुनुअघि नै आफ्ना कन्सोलमा डाउनलोड गरिसकेका छन्। फ्रेन्चाइजको नयाँ संस्करण खेल्न धेरैले कामबाट समेत बिदा लिने अपेक्षा गरिएको छ। सन् १९९७ मा पहिलो संस्करण सार्वजनिक भएयता जीटीए विश्वकै सर्वाधिक बिक्री हुने भिडियो गेम शृंखलामध्ये एक बनेको छ।
अस्ट्रेलियाको सिड्नीका ३३ वर्षीय खेलाडी आसिफ मिरले मध्यरातमा आफ्नो गेमिङ कक्षबाट खेल सुरु गर्दै त्यसलाई प्रत्यक्ष प्रसारण गरेका थिए।
‘मैले १३ वर्ष पर्खिएँ, यार, १३ वर्ष’ गेम खेल्न सुरु गरेपछि उनले भने, ‘यसले त मेरो होस उडाइरहेको छ। ग्राफिक्स, वाह ।’
उनले थपे, ‘सम्भवतः अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट गेमको मध्यरातमा हुने रिलिज म कुनै हालतमा छुटाउँदिनँ।’
सुरुवाती समीक्षाहरू उत्साहजनक रहेपछि सोनीको प्लेस्टेसन-५ र माइक्रोसफ्टको एक्सबक्स सिरिज एक्स तथा एस कन्सोलमा उपलब्ध जीटीए–६ ले निर्माता कम्पनी टेक–टु इन्टरएक्टिभलाई अर्बौँ डलर आम्दानी गराउने अपेक्षा गरिएको छ।
यसको उत्पादन र विकास रकस्टार गेम्सले गरेको हो। गेम सार्वजनिक भएसँगै अमेरिकी सेयर बजारमा टेक–टुका सेयरको मूल्य बजार खुल्नुअघिको कारोबारमा बढेको थियो।
सन् १९९७ मा सार्वजनिक भएको पहिलो ग्रान्ड थेफ्ट अटो अहिलेको मापदण्डमा सामान्य देखिन्छ। त्यसका मिसनमा गाडी चोरी गर्ने र आपराधिक समूहका लागि विभिन्न काम गर्ने गतिविधि समावेश थिए। यस्ता विषयले राजनीतिज्ञ र अभिभावकको आलोचना निम्त्याए पनि खेलाडीहरूबीच भने यो लोकप्रिय बन्यो।
त्यसपछिका प्रत्येक संस्करणमा ग्राफिक्स र कथावाचन थप परिष्कृत हुँदै गए। सन् २०१३ मा सार्वजनिक भएको जीटीए-५ लस एन्जलसबाट प्रेरित काल्पनिक सहर लस सान्तोसमा आधारित थियो। यो अहिलेसम्मकै सर्वाधिक बिक्री भएका भिडियो गेममध्ये एक बन्यो।
फ्रेन्चाइजको पहिचान बनेको अपराध, सवारीसाधन चलाउने र नैतिक रूपमा विवादास्पद मिसनलाई निरन्तरता दिँदै त्यसमा प्यारासुटबाट हाम फाल्ने, सिनेमा हेर्ने र अमेरिकी संस्कृतिमाथि व्यंग्य गर्ने रेडियो स्टेसनजस्ता गतिविधि पनि समावेश गरिएको थियो।
‘असाधारण’ खेल, प्रयोगकर्ताको समीक्षा उत्साहजनक
जीटीए-६ को कथा अब लियोनिडा राज्यको काल्पनिक सहर भाइस सिटीमा अघि बढ्छ। यो अमेरिकाको फ्लोरिडा राज्य र मियामीबाट प्रेरित भएर निर्माण गरिएको हो।
गेमका सार्वजनिक पूर्वावलोकनबाट खेलाडीहरूले यसको केही विशेषताबारे जानकारी पाइसकेका छन्। यसमा दुई मुख्य पात्र लुसिया क्यामिनोस र जेसन डुभालबीच खेलको नियन्त्रण परिवर्तन गर्न सकिन्छ। उनीहरू अपराधमा साझेदार हुनुका साथै प्रेम सम्बन्धमा पनि छन्। उनीहरूको सम्बन्ध कति गहिरो बनाउने भन्ने निर्णय भने खेलाडीले गर्न पाउनेछन्।
गेममा नाइट क्लब, बन्दुक पसल, समुद्रभित्र डाइभिङ र चिडियाखानाजस्ता गतिविधि पनि छन्। तर यसको धेरै पक्ष अझै सार्वजनिक हुन बाँकी छन्।
अमेरिकाको टेनेसी विश्वविद्यालय, नक्सभिलका इतिहासका प्राध्यापक टोरे ओल्सनका अनुसार जीटीए-६ यसअघिका संस्करणको तुलनामा कम विवादास्पद हुन सक्छ। उनले सन् १९८० पछिको अमेरिकी इतिहासलाई जीटीए गेममार्फत पढाउने पाठ्यक्रम सञ्चालन गर्दै आएका छन्।
उनका अनुसार नयाँ गेम विगतको तुलनामा मूलधारको संस्कृतिसँग बढी नजिक देखिन्छ। यसको प्रचार सामग्रीले पनि नैतिक रूपमा जिम्मेवार ढंगले खेल्दा थप लाभ हुने संकेत गरेको छ।
‘जेसन र लुसिया अपराधी हुनेछन् र उनीहरूले नियमित रूपमा कानुन तोड्नेछन् भन्नेमा शंका छैन। तर नयाँ गेमले खेलाडीलाई जथाभावी हत्या गर्न बाध्य पार्नेछ भन्ने मलाई लाग्दैन। त्यसरी खेल्ने खेलाडीलाई यसले दण्डितसमेत गर्न सक्छ,’ ओल्सनले भने।
गेमको सुरुवाती बिक्री उत्साहजनक छ। विश्लेषण संस्था सेन्सर टावरका अनुसार बुधबारसम्म करिब १ करोड ७० लाख प्रति बिक्री भइसकेको अनुमान छ। यसको मूल्य १ अर्ब ६५ करोड डलरभन्दा बढी हुन्छ।
यति ठूलो अपेक्षासँगै गेमप्रति निराशा पैदा हुने जोखिम पनि उत्तिकै छ। गेम अत्यधिक सजिलो वा कठिन हुनु, कथा सन्तोषजनक नहुनु अथवा सार्वजनिक हुने समयमा प्राविधिक त्रुटि र समस्या देखिनुले यसको प्रतिष्ठा तथा भविष्यको बिक्रीमा असर पार्न सक्छ।
यद्यपि, सुरुवाती समीक्षाहरू अत्यधिक सकारात्मक छन्। समीक्षा संकलन गर्ने वेबसाइट मेटाक्रिटिकमा गेमले ९९ अंक प्राप्त गरेको छ। निन्टेन्डोको सन् १९९८ को चर्चित गेम ‘द लिजेन्ड अफ जेल्डा : ओकारिना अफ टाइम’ ले मात्रै यसअघि यही अंक प्राप्त गरेको थियो।
मनोरञ्जन वेबसाइट गेम्सराडार प्लसले रकस्टारले ‘वास्तवमै आश्चर्यजनक आकार, विस्तार र गुणस्तर’ भएको संसार निर्माण गरेको उल्लेख गरेको छ।
भिडियो गेम वेबसाइट युरोगेमर पोल्यान्डले प्रदर्शनमा केही समस्या देखिएको औँल्याए पनि ती कमजोरीले यो पुस्ताकै उत्कृष्ट र खेलाडीलाई लामो समयसम्म तानिरहने गेममध्ये एकको चमक घटाउन नसकेको टिप्पणी गरेको छ।
‘मसँग सम्पर्क गर्न सकिने छैन’
गेमको मुख्य कथा पूरा गर्न करिब ५० घण्टा लाग्ने अनुमान गरिएको छ। त्यसैले यसको पूर्ण समीक्षा र खेलाडीको प्रतिक्रिया तत्काल उपलब्ध हुने छैन। तर धेरै खेलाडीले रातभर जाग्राम बस्ने र गेम खेल्नकै लागि कामबाट बिदा लिने बताएका छन्।
लस एन्जलसका २३ वर्षीय कन्टेन्ट क्रिएटर ब्रेडन ह्वेलीले जीटीए-५ सार्वजनिक हुँदा आफू बालक रहेको र अहिलेको प्रतीक्षा असाधारण भएको बताए।
‘मेरो व्यक्तिगत योजना भनेको गेममा पूर्ण रूपमा डुब्नु हो। यसको अर्थ गेम पूरा नगरेसम्म म खेल्न छाड्ने छैन,’ उनले भने।
अस्ट्रेलियाको गोल्ड कोस्टमा बिक्रीसम्बन्धी काम गर्ने दुई सन्तानका २७ वर्षीय पिता लुक म्याक्सवेलले गेमको प्रतीक्षालाई निकै कष्टकर अनुभव बताएका छन्। उनले गेम खेल्नकै लागि कामबाट बिदा लिएका छन्।
‘मैले परिवारका सबैलाई भनिसकेको छु, मलाई दुःख नदिनु, मसँग कुरा नगर्नु, उनले भने, ‘म यो गेम खेलिरहेको हुनेछु र मसँग सम्पर्क गर्न सकिने छैन।’
अन्य स्थानका केही खेलाडीले एक्सबक्स कन्सोलको क्षेत्रीय सेटिङ न्युजिल्यान्डमा परिवर्तन गरेर आधिकारिक रिलिजभन्दा एक दिनअघि नै गेम खेल्ने प्रयास गरिरहेका छन्।
बेलायतका एक रेडिट प्रयोगकर्ताले लेखेका छन्, ‘म बेलायतमा छु। त्यसैले बिहीबार मध्यरातसम्म पर्खिनुको सट्टा बुधबार बिहान ११ बजे नै खेल्नेछु, जुन न्युजिल्यान्डमा मध्यरातको समय हो।