सेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनको सेन्जेनमा भएको ऐतिहासिक त्रिपक्षीय बैठकपछि चारबुँदे ‘शान्ति घोषणा’ सार्वजनिक भएको छ।
विहीबार भएको बैठकपछि सार्वजनिक घोषणामा तीनै देशले आणविक युद्ध जित्न नसकिने र यस्तो युद्ध कहिल्यै लडिनु नहुने प्रतिबद्धता दोहोर्याएका छन्। साथै आणविक जोखिम घटाउने र आणविक हतियारको प्रसार रोक्ने विषयमा आपसी संवाद गर्ने सहमति गरेका छन्।
ह्वाइट हाउसले बिहीबार सार्वजनिक गरेको ‘यूएस-रसिया-चाइना हेड्स अफ स्टेट्स डिक्लेरेसन टुवार्ड पिस’ शीर्षकको घोषणामा संयुक्त राष्ट्रसंघ सुधार, प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति वृद्धि र अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकार क्षेत्रसम्बन्धी विषय पनि समेटिएका छन्।
ह्वाइट हाउसका अनुसार तीनै नेताले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिबारे विस्तृत विचार आदानप्रदान गर्दै रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सुरक्षा कायम राख्न प्रतिबद्धता जनाएका छन्।
चीनको सरकारी समाचार संस्था सिन्ह्वा र रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले पनि बैठकपछि घोषणाको पूर्णपाठ सार्वजनिक गरेका थिए। अमेरिकी पक्षले समेत औपचारिक विवरण सार्वजनिक गरेपछि तीन देशका राष्ट्रप्रमुखको सहमतिसम्बन्धी दस्ताबेज सार्वजनिक भएको हो।
आणविक जोखिम घटाउन संवाद गर्ने
घोषणाको चौथो बुँदामा तीनै देशले आणविक युद्ध जित्न नसकिने र कहिल्यै लडिनु नहुने मान्यता पुनः पुष्टि गरेका छन्। तीन देशले आणविक जोखिम न्यूनीकरण र आणविक हतियारको प्रसार रोक्न संवाद गर्ने प्रतिबद्धता जनाएका छन्।
ट्रम्पले बैठकअघि नै आणविक हतियार नियन्त्रणलाई छलफलको प्रमुख विषय बनाएका थिए। विश्वका तीन ठूला आणविक शक्ति राष्ट्रबीचको सहकार्यबाट आणविक हतियारको जोखिम घटाउन सकिने उनको अपेक्षा थियो।
बैठकको सुरुवातमा ट्रम्पले आणविक हतियार त्याग्नु सजिलो काम नभएको बताएका थिए। यद्यपि, सार्वजनिक घोषणामा आणविक हतियार नष्ट गर्ने वा निश्चित समयभित्र कटौती गर्ने कुनै ठोस लक्ष्य र समयसीमा उल्लेख छैन। तीन देशले यस विषयमा संवाद गर्ने प्रतिबद्धता मात्रै जनाएका छन्।
यसअघि अमेरिका र रुससँगको तुलनामा आफ्नो आणविक हतियार भण्डार निकै सानो रहेको भन्दै चीनले आणविक हतियार नियन्त्रणसम्बन्धी त्रिपक्षीय वार्तामा सहभागी हुन अनिच्छा देखाउँदै आएको थियो।

संयुक्त राष्ट्रसंघ सुधार र ऊर्जा आपूर्ति वृद्धि
घोषणाको पहिलो बुँदामा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य रहेका अमेरिका, रुस र चीनले संयुक्त राष्ट्रसंघमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
विश्वव्यापी चुनौतीको प्रभावकारी सामना गर्न र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको मूल उद्देश्यअनुसार काम गर्न संयुक्त राष्ट्रसंघलाई सक्षम बनाउने उनीहरूको भनाइ छ।
दोस्रो बुँदामा तीन देशले सबै राष्ट्रको हितका लागि प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति बढाउने योजना सार्वजनिक गरेका छन्। साथै स्थिर ऊर्जा प्रवाहको महत्त्वलाई पुनः पुष्टि गरेका छन्।
यद्यपि, पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति कति बढाउने, कुन समयसीमाभित्र लक्ष्य पूरा गर्ने र त्यसका लागि कस्तो संयन्त्र बनाउने भन्ने विषय घोषणामा खुलाइएको छैन।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकार क्षेत्रमाथि प्रश्न
घोषणाको तेस्रो बुँदामा राज्यको सहमतिको सिद्धान्त र सरकारी अधिकारीले पाउने कानुनी उन्मुक्तिको सम्मानलाई महत्त्वपूर्ण विषयका रूपमा उल्लेख गरिएको छ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) र यस्तै प्रकृतिका अन्य निकायले आफ्नो अधिकार क्षेत्रको दुरुपयोग गर्न नहुने तीनै नेताको सहमति रहेको घोषणामा उल्लेख छ।
यो प्रावधान रुसी राष्ट्रपति पुटिनको सन्दर्भमा विशेष चासोको विषय बनेको छ। नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिन र रुसकी बालअधिकार आयुक्त मारिया ल्भोभा(बेलोभाविरुद्ध युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा देशबाहिर लैजाने र स्थानान्तरण गर्ने आरोपमा पक्राउ पुर्जी जारी गरेको छ।
त्यस्तै, रुसको युक्रेनमाथिको पूर्णस्तरीय आक्रमणका क्रममा युद्ध अपराध तथा मानवताविरुद्धका अपराध गरेको आरोपमा अन्य रुसी अधिकारीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ। मस्कोले भने यी आरोप अस्वीकार गर्दै आएको छ।
लन्डनस्थित अनुसन्धान संस्था रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युट (आरयूएसआई) का अन्तर्राष्ट्रिय निर्देशक जोनाथन आयलले अन्तर्राष्ट्रिय मान्यता र अदालतप्रति शक्तिशाली राष्ट्रहरूले देखाएको दृष्टिकोणलाई घोषणाको महत्त्वपूर्ण पक्ष मानेका छन्।
उनले शक्तिशाली राष्ट्रहरूले अन्तर्राष्ट्रिय मान्यता र अदालतको भूमिकालाई चुनौती दिँदा साना राष्ट्रहरू प्रभावित हुन सक्ने टिप्पणी गरेका छन्।
आयलका अनुसार यो बैठकबाट पुटिनले अन्तर्राष्ट्रिय रूपमा एक्लिएको अवस्थाबाट बाहिर निस्कने अवसर र वैधता प्राप्त गरेका छन् भने ट्रम्पले एउटा तस्बिर खिचाउने अवसर पाएका छन्।

युक्रेन र इरानबारे घोषणामा उल्लेख छैन
तीन नेताबीच युक्रेन, इरान, आणविक हतियार र व्यापारका विषयमा गम्भीर मतभेद रहे पनि सार्वजनिक चारबुँदे घोषणामा युक्रेन र इरानको उल्लेख छैन।
बैठकको सुरुवातमा पुटिनले युक्रेनसहित क्षेत्रीय द्वन्द्व समाधानमा तीन देशका साझा हित रहेको बताएका थिए।
चिनियाँ राष्ट्रपति सीले भने युक्रेनको प्रत्यक्ष उल्लेख नगरी ठूला शक्तिराष्ट्रबीचको सम्बन्धले विश्व शान्तिमा प्रभाव पार्ने बताएका थिए।
‘इतिहासले देखाएको छ, जब प्रमुख शक्तिहरू सद्भावका साथ रहन्छन्, विश्वमा शान्ति हुन्छ। जब प्रमुख शक्तिहरूबीच टकराव हुन्छ, विश्व उथलपुथलमा पर्छ,’ सीले भनेका थिए।
बैठक सकिएको केही घण्टापछि युक्रेन र उसका प्रमुख युरोपेली सहयोगी राष्ट्रका नेताहरूले बर्लिनमा ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँग भेट्ने कार्यक्रम थियो।
युक्रेन युद्ध जारी रहेका बेला पुटिनसँग ट्रम्पको बढ्दो निकटताले अमेरिकाका सहयोगी राष्ट्रहरूमा पनि चासो र चिन्ता बढाएको छ।
तीन देशबीचको बैठक एसिया-प्रशान्त क्षेत्रको शिखर सम्मेलनको साइडलाइनमा भएको थियो। बैठक दक्षिण चीनको सेन्जेनस्थित ताल किनारको काइलिन भिल्लामा आयोजना गरिएको थियो। ट्रम्पले बैठकअघि सी र पुटिनसँग छुट्टाछुट्टै भेट गरेका थिए।
बैठकको सुरुवातमा ट्रम्पले पत्रकारहरूसँग भनेका थिए, ‘हामी वास्तवमै इतिहास रचिरहेका छौँ। संवादका अवसर अस्वीकार गरेर अहिलेसम्म कुनै शान्ति स्थापना भएको छैन।’
व्यापार र प्रविधिमा पनि तनाव
ट्रम्प र सीबीच यसै महिना व्यापारसम्बन्धी युद्धविरामको अवधि थपिएपछि यो भेट भएको हो। तर दक्षिणपूर्वी एसियामार्फत एनभिडियाका चिप्स चीन पुर्याइएको भन्ने विवरण सार्वजनिक भएपछि दुई देशबीच प्रविधि व्यापारसम्बन्धी तनाव कायमै छ।
यसले अमेरिकी निर्यात नियन्त्रणको प्रभावकारिता र चीनले अत्याधुनिक प्रविधिमा पाउने पहुँचको भविष्यबारे प्रश्न उठाएको छ।
ट्रम्पको तीनदिने एसिया भ्रमणका क्रममा चीन, रुस र अमेरिकाबीच भएको यो त्रिपक्षीय बैठकलाई प्रमुख कूटनीतिक घटनाका रूपमा हेरिएको छ। यद्यपि, सार्वजनिक घोषणामा ठोस कार्ययोजना, कार्यान्वयनको समयसीमा र युक्रेन युद्ध समाधानसम्बन्धी प्रतिबद्धता समेटिएको छैन।