रोयटर्स । भुटानको सिन्ताफु हिमतालको बाँध फुटेर आएको बाढीले उत्तरी भुटानस्थित पर्यटकीय क्षेत्र गासा त्साचुका पूर्वाधार बगाएको छ ।
शुक्रबार सञ्चारमाध्यमहरूले जनाएअनुसार, हिमताल फुटेपछि आएको बाढीले गासा त्साचुका प्राकृतिक तातोपानीका मुहान क्षेत्रमा क्षति पुर्याएको हो ।
भुटानको सरकारी प्रसारक बीबीएसका अनुसार बाढीबाट अहिलेसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन ।
गासा त्साचु भारत र चीनको बीचमा अवस्थित भुटानको उत्तरी क्षेत्रमा पर्ने प्रमुख पर्यटकीय गन्तव्य हो ।
बीबीएसका अनुसार राति आएको आकस्मिक बाढीबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन । अँध्यारो र बाढीको तीव्र बहावका कारण क्षतिको आकलन गर्न कठिन भएको प्रसारकले जनाएको छ ।
बाढीले दुईवटा बेली पुलसमेत बगाएको हुन सक्ने बीबीएसले जनाएको छ । बेली पुल भनेका पहिले नै तयार पारिएका खण्डहरू जोडेर निर्माण गरिने अस्थायी वा पोर्टेबल पुल हुन् ।
गासा त्साचु क्षेत्रमा यसअघि सन् २०२१ मा पनि आकस्मिक बाढी आएको थियो । त्यतिबेला मोछु नदीले आफ्नो बहाव परिवर्तन गर्दै उक्त क्षेत्रमा बाढी ल्याएको थियो ।
भुटानको राष्ट्रिय दैनिक कुएन्सेलका अनुसार तातोपानीका मुहान रहेको लाया गाउँ जाने सडकको केही भागसमेत बाढीले बगाएको छ । सडकमा आवागमन गर्न नसकिने भएपछि अनिश्चितकालका लागि यातायात बन्द गरिएको छ ।
बाढी उक्त क्षेत्रमा पुग्नुअघि नै स्थानीय क्षेत्र खाली गराइएको कुएन्सेलले जनाएको छ ।
यसैबीच, भुटानको पश्चिममा करिब ६०० किलोमिटर टाढा रहेको नेपाल-चीन सीमा क्षेत्रमा पनि अगस्टमा यस्तै प्रकृतिको आकस्मिक बाढी आएको थियो । उक्त बाढीमा १ हजार ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने ५ हजारभन्दा बढी बेपत्ता भएका थिए ।
पश्चिम बंगाल र आसामलाई सतर्क गराइयो
भुटानमा हिमताल फुटेर आएको बाढीको पानी पुनाखास्थित पुनाखा जोङबाट करिब आठ किलोमिटर टाढा रहेको काबेसा गेवोगको स्रिगाङ क्षेत्र पार गरेको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै भुटानले भारतका पश्चिम बंगाल र आसाम राज्य सरकारलाई सतर्क गराएको छ। भुटानसँग सीमा जोडिएका भारतीय जिल्लाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ।
जोखिममा रहेका क्षेत्रमध्ये आसामको धुब्री तथा पश्चिम बंगालका दार्जिलिङका पहाडी क्षेत्र, अलिपुरद्वार र जलपाइगुडी जिल्ला छन्।
पश्चिम बंगालको कुचबिहार प्रशासनले पनि सन्कोस नदी किनारमा बसोबास गर्ने मानिसहरूलाई सतर्क रहन सूचना जारी गरेको छ।
सन्कोस नदीको मुहान उत्तरी भुटानमा पर्छ। मोछु र फोछु लगायतका माथिल्लो भेगका प्रमुख सहायक नदीहरू मिसिएर बन्ने यो नदी आसाममा ब्रह्मपुत्र नदीमा गएर मिसिन्छ।
