काठमाडौं । अन्ततः अनमोल केसी स्टारर कथानक ‘बाटुलो जून’ को ट्रेलर युट्युबमा आइपुगेको छ । पहिलोपटक ग्रामीण चरित्र र परिवेशमा देखिएका केसीको यो फिल्म उनको करिअरमै महत्वपूर्ण हुनसक्छ ।
३ मिनेट १६ सेकेन्डको ट्रेलरले दर्शकलाई ‘बाटुलो जून’को संक्षिप्त यात्रामा लैजान्छ, जहाँ दर्शकले पात्रको संवेदना महसुस गर्न सक्छन् । चरित्र चित्रण, कथा, द्वन्द्व र परिवेशलाई ट्रेलर प्रकाश पारेको छ ।
हामीले ट्रेलरमा दुई समय (टाइमलाइन)को प्रेमकथा देख्न पाउँछौं । भुवन केसी र गरिमा पन्तको समयको रेट्रो-रोमान्स र अनमोल र प्रिन्सी खतिवडा अर्को टाइमलाइनको प्रेम । भुवनले न्यारेटरको रुपमा अघिल्लो समयको प्रेमलाई दर्शकमाझ प्रस्तुत गरेका छन् ।
ट्रेलर हेर्दा, कथावस्तु मास्टर र विद्यार्थीबीचको प्रेम र त्यसबाट विकसित हुने चुनौतीको कथामा आधारित रहेको बुझ्न सकिन्छ ।
न्यानो र सरल प्रेमकथाको ट्रेलरले दर्शकको मन जित्ने पक्का छ । राजेश श्रेष्ठको छायांकन ट्रेलरको अर्को मन जित्ने पक्ष हो । ग्लसी र चित्ताकर्षक दृश्यले ट्रेलरलाई दर्शनीय तुल्याएको छ ।
भुवन केसी निर्देशित फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् ।