हङकङ । नेपाली वृत्तचित्र ‘रोड टु एभरेष्ट’ को विशेष प्रदर्शन आइतबार हङकङमा सम्पन्न भएको छ। सगरमाथा र नेपालको हिमाली सम्पदालाई अन्तर्राष्ट्रिय दर्शकमाझ परिचित गराउने तथा रसुवाका बाढीपहिरो प्रभावित परिवारको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले प्रदर्शन आयोजना गरिएको हो।
‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा प्रदर्शन आयोजना गरेको थियो। वृत्तचित्र हेर्न नेपाली, भारतीय, चिनियाँ, बेलायती, फिलिपिनो, थाई, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शक सहभागी भएका थिए।
दर्शकले सगरमाथाको यात्रा, वृत्तचित्रको दृश्य प्रस्तुति, विषयवस्तु र जलवायु परिवर्तनसम्बन्धी सन्देशको प्रशंसा गरेका थिए।
एनआरएनए हङकङले यसअघि सम्पन्न ग्रान्ड प्रिमियरमा प्राप्त प्रतिक्रियापछि दर्शकको मागअनुसार विशेष प्रदर्शन आयोजना गरेको जनाएको छ। पहिलो प्रदर्शनमा सहभागी हुन नसकेका दर्शकलाई अवसर प्रदान गर्नुका साथै नेपाली हिमाली कथा विभिन्न समुदायसम्म पुर्याउने उद्देश्य रहेको प्रदर्शन संयोजक तथा एनआरएनए हङकङकी उपाध्यक्ष कविता गुरुङले बताइन्।

एनआरएनए हङकङकी अध्यक्ष अनु राईले ‘रोड टु एभरेष्ट’ सगरमाथा आरोहणको कथामा मात्र सीमित नभई शेर्पा समुदायको योगदान, साहस, संघर्ष र विश्वाससँगै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव समेटिएको वृत्तचित्र भएको बताइन्। उनले प्रदर्शनमा सहभागी नेपाली समुदायलाई धन्यवाद दिँदै रसुवाका विपद् प्रभावित परिवारलाई सहयोग गर्ने अभियानमा पनि साथ दिन आग्रह गरिन्।
एनआरएनए हङकङका महासचिव इन्द्र पुनले नेपालीले आफ्नै लगानी र सीमित स्रोतसाधनका बाबजुद आफ्ना कथा आफैँ भन्ने प्रयासलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताए।
कार्यक्रममा वी विल राइज फाउन्डेसनका अध्यक्ष तुलसीकुमार गुरुङ, वृत्तचित्रका प्रमुख पात्र राज गुरुङ र विनोद गुरुङको पनि उपस्थिति थियो।
करिब ५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रामार्फत पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान, नेपाली हिमाली सम्पदा र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका असरलाई प्रस्तुत गरेको छ।

वी विल राइज फाउन्डेसनले निर्माण गरेको वृत्तचित्रको निर्देशन निर्मल श्रेष्ठले गरेका हुन्। यसको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको वृत्तचित्रमा नेपाली प्राविधिक तथा निर्माण टोलीको सहभागिता छ।
निर्माण पक्षका अनुसार ‘रोड टु एभरेष्ट’लाई विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सव तथा विशेष प्रदर्शनमार्फत विश्वभरका दर्शकमाझ पुर्याउने अभियान जारी छ।
फोटो : स्वदेश महर्जन