काठमाडौं । फिल्म ‘पाँच पाण्डव’मा महाभारतका पात्रहरूको प्रस्तुतीकरणप्रति विश्व हिन्दू परिषद् नेपालले गम्भीर आपत्ति जनाएको छ। फिल्मका सार्वजनिक गीत, दृश्य, संवाद तथा प्रचार सामग्रीले हिन्दू धार्मिक आस्था र सांस्कृतिक मर्यादामा चोट पुर्याउन सक्ने भन्दै परिषद्ले चलचित्र विकास बोर्डलाई औपचारिक ध्यानाकर्षणपत्र बुझाएको हो।
पत्रमा परिषद्ले चलचित्रको तत्काल निष्पक्ष छानबिन, आवश्यक सुधार र प्रदर्शनसम्बन्धी कानुनसम्मत निर्णय गर्न माग गरेको छ। माग सम्बोधन नभए देशव्यापी रूपमा शान्तिपूर्ण विरोध तथा चलचित्र बहिष्कार अभियान चलाउने चेतावनीसमेत परिषद्ले दिएको छ।
महाभारत हिन्दू सभ्यता, संस्कृति र दर्शनको धरोहर भएको उल्लेख गर्दै परिषद्ले भगवान् श्रीकृष्ण, युधिष्ठिर, अर्जुन, भीम, नकुल, सहदेव तथा द्रौपदी करोडौं हिन्दू धर्मावलम्बीको श्रद्धासँग जोडिएका पात्र भएको जनाएको छ। चलचित्रका केही दृश्य र गीतमा ती पात्रहरूलाई प्रस्तुत गरिएको शैलीले उनीहरूको धार्मिक तथा सांस्कृतिक गरिमा कमजोर पारेको परिषद्को ठहर छ।
सिर्जनात्मक स्वतन्त्रताको सम्मान गर्नुपर्ने भए पनि त्यसका नाममा धार्मिक आस्था र ऐतिहासिक पात्रहरूको मर्यादालाई बेवास्ता गर्न नहुने परिषद्को धारणा छ। धार्मिक पात्रहरूलाई मनोरञ्जन वा व्यावसायिक लाभका लागि प्रयोग गर्दा सम्बन्धित समुदायको आस्थाको सम्मान अनिवार्य हुनुपर्ने परिषद्ले जोड दिएको छ।
परिषद्ले बोर्डसमक्ष ६ वटा प्रमुख माग राखेको छ। चलचित्रका सार्वजनिक गीत, दृश्य, संवाद र प्रचार सामग्रीको तत्काल अध्ययन तथा छानबिन गर्न र प्रदर्शनअघि सम्पूर्ण चलचित्रको समीक्षा गरी धार्मिक आस्था, सांस्कृतिक मर्यादा तथा सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने सामग्री पहिचान गर्न परिषद्ले आग्रह गरेको छ।
त्यस्तै, आपत्तिजनक दृश्य, संवाद र प्रस्तुति हटाउन वा संशोधन गर्न निर्माण पक्षलाई निर्देशन दिन, निर्माता तथा निर्देशकसँग आधिकारिक स्पष्टीकरण माग्न र सुधार नगरी प्रदर्शन गर्न खोजिएमा प्रचलित कानुन तथा चलचित्र जाँच कार्यविधिअनुसार प्रदर्शन अनुमतिबारे निर्णय लिन माग गरिएको छ। भविष्यमा धार्मिक ग्रन्थ, देवीदेवता तथा श्रद्धेय पात्रहरूलाई चलचित्रमा प्रस्तुत गर्दा आस्था र मर्यादाको सम्मान सुनिश्चित गर्ने व्यवस्था गर्न पनि परिषद्ले ध्यानाकर्षण गराएको छ।
आवश्यक परे कानुनी तथा संवैधानिक उपाय अपनाइने पत्रमा उल्लेख छ। परिषद्ले यसबारे गरिएको कारबाही र निर्णयको लिखित जानकारी उपलब्ध गराउन पनि बोर्डलाई अनुरोध गरेको छ।