काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा यसको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव नम्बर ५१-२०५ पारित गर्दै नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा घोषणा गरेको थियो।
यसअघि सन् १९९६ नोभेम्बर २१ र २२ तारिखमा संयुक्त राष्ट्रसङ्घले पहिलो विश्व टेलिभिजन मञ्च आयोजना गरेको थियो। उक्त मञ्चमा सञ्चार क्षेत्रका प्रमुख व्यक्तित्वहरू भेला भई परिवर्तनशील विश्वमा टेलिभिजनको बढ्दो महत्त्व र भूमिकाबारे छलफल गरेका थिए।
टेलिभिजनलाई जनमत निर्माण गर्ने, सर्वसाधारणसम्म सूचना तथा समाचार प्रवाह गर्ने र सामाजिक चेतना अभिवृद्धि गर्ने प्रभावशाली सञ्चारमाध्यमका रूपमा स्वीकार गर्दै संयुक्त राष्ट्रसङ्घले यस दिवस मनाउने निर्णय गरेको हो।
विश्व टेलिभिजन दिवसले सञ्चार, शिक्षा, सूचना तथा मनोरञ्जनका क्षेत्रमा टेलिभिजनको योगदानलाई स्मरण गराउनुका साथै समाजमा यसको सकारात्मक प्रभाव र जिम्मेवार पत्रकारिताको महत्त्वलाई समेत उजागर गर्दछ।
सूचना प्रविधिको तीव्र विकाससँगै डिजिटल तथा सामाजिक सञ्जालको प्रभाव बढ्दै गए पनि विश्वभर सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा टेलिभिजनको भूमिका अझै महत्त्वपूर्ण मानिन्छ।
