काठमाडौं । कथानक फिल्म ‘सिन्दुरे जात्रा’को टिजर युट्युबमा सार्वजनिक भएको छ । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ निर्देशक सरोज पौडेलको आगामी फिल्म दर्शकमाझ प्रतीक्षित छ ।
टिजरमा शीर्ष कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपानेलाई प्रस्तुत गरिएको छ । प्रेम, खुसी, धोका र पीडाजस्ता पात्रको मानवीय संवेदना टिजरमा समेटिएको छ ।
परम्परागत संस्कृतिका दृश्यबाट सुरु हुने टिजरको सुरुवातमा हामीले विजय र अञ्जनाको प्रेम, विवाह र खुसी देख्न सक्छौं । अर्का कलाकार विनोदको प्रवेशसँगै द्वन्द्व सिर्जना हुन्छ ।
उनको प्रवेशसँगै वियोगमा फसेका विजयको अवस्था र अञ्जनाले व्यहोरेको धोका र त्यसपछिको पीडा टिजरमा देखिन्छ ।
प्रेमिल कथा र घटनाक्रमबाट सुरु हुने टिजर धोकासँगै कलाकारको दुःखले सिर्जना गर्ने इमोसनमा गएर टुंगिन्छ । गाउँको सेटअपले दर्शकलाई नोस्टाल्जिया सिर्जना गर्ने विश्वास निर्माताको छ ।
फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । यसअघि पौडेलको ‘पूर्णबहादुरको सारंगी’मा पनि विजय र अञ्जना जोडीकै भूमिकामा थिए । उनीहरुको यो दोस्रो सहकार्य हो ।
फिल्ममा उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्ममा निर्देशक पौडेल स्वयंको कथा छ । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् ।
सह-निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् ।
दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्मका छायांकार पदमबहादुर श्रेष्ठ, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरे क्रिएटिभ निर्देशक मा छन् । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत छ ।
मंसिर १८ गते रिलिज हुने फिल्मको वितरण जिम्मेवारी दीपक दंगालको नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ ।
