काठमाडौं । आगामी मंगलबार अमेरिकामा मध्यावधि चुनाव हुँदैछ । ३ नोभेम्बरमा हुने निर्वाचनको दिन नजिकिँदै गर्दा नेपाली समुदायको उच्च बसोबास रहेको मेरिल्याण्ड राज्यमा पनि चुनावी सरगर्मी तातिरहेको छ ।
डेमोक्रेटिक पार्टीबाट मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स, डिस्ट्रिक्ट सेभेन एका लागि संचारकर्मी समेत रहेका सतिश चापागाइँ उम्मेदवार छन् भने ह्यारी भण्डारी लगातार तेस्रो कार्यकालका लागि डिस्ट्रिक्ट ८ बाट उम्मेदवार छन् ।
यसअघिको अर्ली इलेक्सनमा पनि यी दुईजनाले राम्रो मत ल्याएर जितेका थिए । यतिबेला यी दुईजना नेपाली समुदायसहित मतदातालाई भेटेर मत मागिरहेका छन्, साथै आफ्ना एजेन्डाहरू पेश गरिरहेका छन् ।

उनीहरूको चुनावी अभियानमा मेरिल्याण्ड राज्यमा बसोबास गर्ने नेपाली समुदायले पनि साथ दिइरहेका छन् । प्राप्त भिडियो तथा तस्वीरमा पनि नेपाली मात्र होइन, गैरनेपाली मूलका स्थानीयले पनि सतिश र ह्यारीको प्रचारमा सघाएको देखिन्छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको बीचमा हुन लागेको यो चुनावले अमेरिकी संसद्का दुवै सदनको शक्ति सन्तुलन परिवर्तन गर्न सक्छ। यसले आगामी दुई वर्ष ट्रम्प प्रशासनले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कति सहजता पाउँछ भन्ने कुरामा पनि प्रभाव पार्नेछ।
यस चुनावमा राष्ट्रपति पदका लागि मतदान हुँदैन। अमेरिकी मतदाताले प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स), सिनेट र विभिन्न राज्यका पदाधिकारी चयन गर्नेछन्। यसको मुख्य उद्देश्य कांग्रेसमा प्रतिनिधित्व गर्ने सांसदहरू चयन गर्नु हो।

