काठमाडौं । टिकटकले किशोरकिशोरीले प्लेटफर्ममा बिताउने समय र उनीहरूको डिजिटल गतिविधिबारे अभिभावकलाई थप जानकारी दिने उद्देश्यले ‘फ्यामिली पेयरिङ’ सुविधा पुनः डिजाइन गरेको छ।
नोभेम्बर २३ मा घोषणा गरिएको नयाँ सुविधाले अभिभावकलाई किशोरकिशोरीको स्क्रिन टाइम, उनीहरूको अन्तरक्रिया, कन्टेन्ट रुचि र सार्वजनिक पोस्टबारे जानकारी उपलब्ध गराउनेछ। यसबाट किशोरकिशोरीको डिजिटल व्यवहारमा आएको परिवर्तन बुझ्न र आवश्यक सेटिङ व्यवस्थापन गर्न अभिभावकलाई सहज हुने कम्पनीको भनाइ छ।
पुनः डिजाइन गरिएको ड्यासबोर्डमा चार प्रमुख क्षेत्रका जानकारी समेटिएका छन्। तीमध्ये स्क्रिन टाइमसम्बन्धी विवरणलाई पहिलो प्राथमिकतामा राखिएको छ। अभिभावकले किशोरकिशोरीले दैनिक औसतमा कति समय टिकटक चलाउँछन्, रातिको समयमा कति प्रयोग गर्छन् र स्क्रिन टाइम व्यवस्थापनका लागि कस्ता सेटिङ राखिएका छन् भन्ने हेर्न सक्नेछन्।
टिकटकले किशोरकिशोरीका खातामा स्क्रिन टाइमको पूर्वनिर्धारित सीमा ६० मिनेट राख्दै आएको छ। त्यस्तै, उनीहरूका खातामा गोपनीयता तथा सुरक्षासम्बन्धी सेटिङ र उमेरअनुकूल सामग्रीसम्बन्धी नीति पनि लागू छन्।
नयाँ सुविधाअन्तर्गत अभिभावकले किशोरकिशोरीका फलोअर र उनीहरूले फलो गरेका खाताको संख्यामा आएको परिवर्तन, उनीहरू जोडिएका अकाउन्ट र ब्लक गरेका अकाउन्टबारे पनि जानकारी पाउनेछन्।
आगामी महिनाहरूमा टिकटकले किशोरकिशोरीले प्लेटफर्ममा कसलाई सन्देश पठाउँछन् भन्ने जानकारी अभिभावकलाई उपलब्ध गराउने सुविधा पनि थप्ने योजना बनाएको छ।
किशोरकिशोरीको कन्टेन्ट रुचिबारे जानकारी दिन उनीहरूले फलो गरेका प्रमाणित क्रिएटरका केही भिडियोको नमुना पनि अभिभावकले हेर्न सक्नेछन्। यसले उनीहरू टिकटकमा कुन समुदाय र विषयवस्तुसँग जोडिएका छन् भन्ने बुझ्न मद्दत गर्ने कम्पनीको भनाइ छ। टिकटकले परामर्श गरेका किशोरकिशोरीका ८० प्रतिशतभन्दा बढी अभिभावकले यस्तो सुविधा चाहेको बताएका थिए।

ड्यासबोर्डमा सार्वजनिक रूपमा सेयर गरिएका पोस्टको विवरण पनि समावेश गरिएको छ। यसबाट अभिभावकले आफ्ना किशोरकिशोरीले प्रत्येक साता सार्वजनिक गरेका पोस्ट र ती पोस्टमा आएका भ्युको संख्या हेर्न सक्नेछन्।
टिकटकका अनुसार नयाँ ‘फ्यामिली पेयरिङ’ सुविधा तीन सिद्धान्तमा आधारित छ। अभिभावकलाई स्पष्ट र उपयोगी जानकारी दिने, निर्णय गर्न सघाउने सन्दर्भ उपलब्ध गराउने र किशोरकिशोरीको गोपनीयताको सम्मान गर्ने यसको उद्देश्य छ।
अभिभावकलाई नियन्त्रणमा मात्र केन्द्रित गराउनुको सट्टा किशोरकिशोरीसँग अर्थपूर्ण संवाद गर्न सहयोग पुर्याउने गरी यो सुविधा विकास गरिएको कम्पनीले जनाएको छ। टिकटकले परामर्श गरेका ७० प्रतिशतभन्दा बढी अभिभावकले किशोरकिशोरीसँग कुराकानी सुरु गर्न सहयोग गर्ने उपकरण चाहेको बताएका थिए।
ड्यासबोर्डमा उपलब्ध जानकारी दैनिक रूपमा अद्यावधिक हुनेछ। यसले अभिभावकलाई समयसँगै किशोरकिशोरीको डिजिटल व्यवहारमा आएको परिवर्तन हेर्न र आवश्यक परे सेटिङ परिवर्तन गर्न सहयोग गर्नेछ। उनीहरूले यही जानकारीलाई किशोरकिशोरीसँग अनलाइन गतिविधिबारे कुराकानी सुरु गर्ने आधारका रूपमा पनि प्रयोग गर्न सक्नेछन्।
नयाँ ड्यासबोर्ड वेब ब्राउजरबाट पनि प्रयोग गर्न सकिनेछ। यसले कम्प्युटरबाट टिकटक व्यवस्थापन गर्न चाहने वा मोबाइलमा टिकटक एप नभएका अभिभावकलाई अर्को विकल्प उपलब्ध गराउनेछ।
टिकटकले सम्भावित हानिकारक सामग्रीको खोजीमा किशोरकिशोरीको संलग्नताबारे चिन्ता गर्ने अभिभावकका लागि छुट्टै सूचना प्रणाली पनि विकास गरिरहेको छ।
यसका लागि कम्पनीले बोस्टन चिल्ड्रेन्स हस्पिटलको डिजिटल वेलनेस ल्याब र सेफ अनलाइन स्ट्यान्डर्ड्सका संस्थापक तथा निर्देशक एवं जोन्स हप्किन्स सेन्टर फर सुसाइड प्रिभेन्सनका एफिलिएट फ्याकल्टी डा। डान राइडेनबर्गसँग सहकार्य गरिरहेको छ।
प्रस्तावित सूचना प्रणालीले किशोरकिशोरीले सम्भावित हानिकारक सामग्री खोज्ने प्रयास गरेको हुन सक्ने अवस्थामा अभिभावकलाई जानकारी दिनेछ। साथै, यस्तो अवस्थामा किशोरकिशोरीसँग कसरी कुरा गर्ने, उनीहरूको अवस्था कसरी बुझ्ने र सहयोगी संवाद कसरी सुरु गर्ने भन्ने विषयमा विज्ञहरूको सुझाव पनि उपलब्ध गराउनेछ। यो सुविधा अहिले विकासकै क्रममा छ।
घरबाहिर पनि किशोरकिशोरीको डिजिटल सुरक्षालाई सहयोग गर्ने उद्देश्यले टिकटकले ‘एजुकेटर्स गाइड’ पनि सार्वजनिक गरेको छ। शिक्षक तथा युवा सुरक्षा विज्ञसँगको परामर्शमा तयार गरिएको यो स्रोतमा टिकटक कसरी सञ्चालन हुन्छ, कक्षाकोठामा प्रयोग गर्न सकिने सामग्री र विद्यार्थी तथा परिवारसँग अनलाइन सुरक्षा, डिजिटल स्वास्थ्य र मिडिया साक्षरताबारे छलफल गर्न उपयोगी मार्गदर्शन समेटिएको छ।
शैक्षिक संस्थाका लागि थप कक्षाकोठा सामग्री आगामी साताहरूमा सार्वजनिक गर्ने टिकटकको योजना छ। ‘एजुकेटर्स गाइड’ सहित युवा सुरक्षासम्बन्धी थप सामग्री कम्पनीको ‘सेफ्टी सेन्टर’ मा उपलब्ध छन्।
टिकटकले किशोरकिशोरी, परिवार र शिक्षकका लागि सुरक्षित डिजिटल अनुभव विकास गर्न थप उपकरण, सुविधा र स्रोत ल्याउने काम जारी राख्ने जनाएको छ।