काठमाडौं । नेपाली कथानक फिल्म ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वजनिक गरिएको छ।‘सर्भाइभल’ कथामा आधारित यो फिल्म मङ्सिर ४ गतेबाट प्रदर्शनमा आउँदै छ।
दिवंगत सुनिल थापाको अभिनय रहेको यो अन्तिम फिल्म समेत हो। दशकौँसम्म नेपाली सिनेमामा योगदान दिएर दर्शकको मनमा अमिट छाप छोडेका थापाको यो अन्तिम प्रस्तुतिलाई नेपाल र अन्तर्राष्ट्रिय बजारका दर्शकमाझ पुर्याउनु उनको भव्य विरासतप्रतिको सम्मान भएको निर्माण पक्षले जनाएको छ।
फिल्ममा थापासँगै परीक्षा लिम्बू, कार्म, राहुल एन. मुखिया र सजन थापाको मुख्य अभिनय छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक धीरज राजवंशीले फिल्मलाई निकै फरक हिसाबले निर्माण गरिएको बताए। ‘यसमा गीत छैन, तर यसको ब्याकग्राउन्ड म्युजिक एकदमै राम्रो छ, जसले दर्शकलाई फिल्ममा तान्छ। प्राविधिक रूपमा हामीले अन्तर्राष्ट्रिय टिमसँग काम गरेका छौँ’ उनले भने।
चलचित्र भारत, जापान र अस्ट्रेलिया लगायतका देशमा नेपाली भाषामै त्यहाँको सबटाइटलसहित प्रदर्शन हुनेछ।
अभिनेत्री लिम्बुले यो प्रोजेक्ट आफ्ना अघिल्ला चलचित्रभन्दा नितान्त फरक रहेको बताइन्। ‘मेरा पहिलेका फिल्महरु सोसल ड्रामा, फेमिली ड्रामा र लभ स्टोरी थिए। यसमा चाहिँ एउटा मानिसको जीवनबाट सबै कुरा खोसिँदा के बाँकी रहन्छ भन्ने सर्भाइभल स्टोरी छ’, उनले भनिन्, ‘नेपालमा महिलाप्रधान फिल्म कम बन्ने हुनाले यो फिल्म पाउनु आफ्ना लागि विशेष छ। सुटिङ चुनौतीपूर्ण भए पनि एकदमै सहज रूपमा सकियो।’
अभिनेता कार्मले नयाँ निर्देशक र नयाँ आइडियामा काम गर्न आफू सधैँ उत्साहित हुने बताए। ‘यो फिल्मको स्क्रिप्ट नियमित बन्ने नेपाली फिल्मभन्दा धेरै फरक छ। अब महिलालाई मुख्य पात्र बनाइएका फिल्मको पनि बजार छ भनेर बुझ्नुभएकोमा निर्देशकलाई धन्यवाद दिन चाहन्छु’ उनले भने।
वितरक तथा निर्माता नकिम उद्दिनले अन्तर्राष्ट्रिय बजारमा फिल्मको बलियो सम्भावना रहेको बताए। ‘भारतमा रिलिज गर्न एए फिल्म्सले मन पराएर सम्झौता भइसकेको छ। जापानसहित अरू देशमा पनि यसलाई मन पराइरहेका छन्’ उनले भने, ‘यस किसिमको फिल्मले अन्तर्राष्ट्रिय बजार पायो भने नेपाली चलचित्र उद्योग अझै अगाडि बढ्नेछ।’

