Paywear Banner Desktop
Paywear Banner Desktop

तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

सुनचाँदी तथा भाँडाकुँडा खरिद गर्ने परम्परा

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ । आज धन त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइँदैछ । दीपावली अर्थात् तिहारको सुरुवातका रूपमा मनाइने धनतेरसका दिन विशेषगरी सुनचाँदी, भाँडाकुँडा तथा विभिन्न सामग्री खरिद गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार धनतेरसका दिन नयाँ सामग्री खरिद गरी घरमा भित्र्याउँदा सुख, समृद्धि र धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । यस दिन खरिद गरिएका सामग्री राखेर लक्ष्मी पूजा गरेमा माता लक्ष्मी प्रसन्न भई घरमा धनसम्पत्ति र समृद्धिको बास हुने जनविश्वास छ ।

धनतेरसका अवसरमा श्रद्धालुले पवित्र मन र शुद्ध चित्तले पूजा अर्चना गर्ने तथा लक्ष्मी र गणेशको मूर्ति वा तस्बिर घरमा भित्र्याउने चलन छ । धार्मिक मान्यताअनुसार कमलको फूलमाथि विराजमान भएकी माता लक्ष्मीको मूर्ति स्थापना गर्नु शुभ मानिन्छ । आफ्नो आर्थिक क्षमताअनुसार माटोका मूर्ति वा तस्बिरसमेत खरिद गर्न सकिने विश्वास छ ।

यस दिन विशेषगरी सुन, चाँदी, तामा, पित्तल तथा स्टिलका भाँडाकुँडा खरिद गर्ने प्रचलन छ । भाँडाकुँडा खरिद गर्दा सम्भव भएसम्म चाँदीको कुनै सामग्री पनि किन्नु शुभ मानिन्छ । धनतेरसमा खरिद गरिएका सामग्री घरको पूर्वोत्तर दिशा अर्थात् ईशान कोणमा राख्ने धार्मिक मान्यता छ ।

त्यस्तै, धनतेरसका दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ खरिद गरी घरमा भित्र्याउनु पनि शुभ मानिन्छ । यी सामग्रीलाई लक्ष्मी पूजामा समावेश गरी घरमा राख्दा धनधान्य वृद्धि हुने र मानसिक शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

धनतेरसलाई धन र समृद्धिकी देवी लक्ष्मी तथा धनका देवता कुबेरको विशेष आराधना गर्ने दिनका रूपमा पनि लिइन्छ । यस दिनबाट दीपावलीको धार्मिक उत्सव सुरु हुने भएकाले घरको सरसफाइ, पूजाआजा र नयाँ सामग्री खरिदमा विशेष ध्यान दिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!