काठमाडौं । बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले सन् २०२० मा भारत र चीनका सैनिकबीच गलवान उपत्यकामा भएको झडपबाट प्रेरित युद्धप्रधान फिल्मको कथाबारे पहिलो विस्तृत झलक दिएको छ।
अपुर्व लाखियाको निर्देशनमा बनेको फिल्ममा सलमान सैनिकको भूमिकामा देखिएका छन्। उनी आफ्नो कर्तव्यप्रति प्रतिबद्ध सैनिकका साथै मायालु पति र जिम्मेवार बाबुका रूपमा पनि प्रस्तुत भएका छन्।
नेपाली अभिनेता अनुपविक्रम शाहीलाई पनि ट्रेलरमा प्रशस्त स्थान दिइएको छ । अनुपको यो डेब्यू बलिउड फिल्म हो । नेपालका स्थापित अभिनेताका लागि सलमानजस्तो बलिउड स्टारको फिल्मले यो स्थान दिनु महत्वपूर्ण कुरा हो ।
के छ ‘मातृभूमि’को ट्रेलरमा ?
४ मिनेट ३५ सेकेन्ड लामो ट्रेलर पूर्वी लद्दाखका हिउँले ढाकिएका दृश्यबाट सुरु हुन्छ। त्यसपछि सलमान खानलाई १६ बिहार रेजिमेन्टका एक सैनिक अधिकारीका रूपमा परिचय गराइएको छ।
परिवारले चिन्ता व्यक्त गरे पनि उनी सैन्य जिम्मेवारी पूरा गर्न स्वेच्छाले खटिन्छन्। आफ्नी पत्नीको भूमिकामा रहेकी चित्रांगदा सिंहलाई उनी हाँसोठट्टा गर्दै सम्झाउने प्रयास गर्छन्।
सानो छोरासँग भावुक बिदाइका क्रममा उनले सैनिकहरूले बिदाइ नभई सलाम गर्ने बताउँछन्। परिवारलाई सम्झाउँदै उनी भन्छन्, ‘तिमीहरूको छोराको रक्षाका लागि उसकी आमा छिन्, तर मातृभूमिको रक्षा गर्न उनका छोराहरू पहरा दिइरहेका छन्।’
त्यसपछि ट्रेलरमा फिल्मको मुख्य द्वन्द्व देखाइएको छ। भारतीय सैनिकले सीमापार चिनियाँ सेनाले पाल र गस्ती चौकी स्थापना गरिरहेको पत्ता लगाउँछन्।
सलमानको पात्रले संवादमार्फत परिस्थिति शान्त पार्ने प्रयास गर्छन्। आफ्ना सैनिकलाई उनी बहादुरी भनेको सधैँ लडाइँ गर्नु मात्र नभई युद्ध रोक्न सक्नु पनि भएको सम्झाउँछन्।
तर, भारतीय गस्ती टोलीभन्दा विपक्षी सैनिकको संख्या बढी भएपछि उनीहरूलाई पछि हट्न भनिन्छ। सलमानको पात्र भने पछि हट्न अस्वीकार गर्छन्।
उनी भन्छन्, ‘हामी सैनिक हौँ, यस्तै दिनका लागि बनेका हौँ।’
त्यसपछि तनाव बढ्दै जाँदा दुवै पक्षबीच भीषण हाताहातीको लडाइँ सुरु हुन्छ। यस क्रममा ‘एक बिहारी, सय पे भारी’ भन्ने संवादले १६ बिहार रेजिमेन्टका सैनिकको लडाकु भावना प्रस्तुत गर्छ।
युद्धका दृश्यसँगै ट्रेलरमा सैनिक जीवनको भावनात्मक पक्ष पनि देखाइएको छ। सलमानको परिवार र उनकी पत्नीले व्यक्त गरेको चिन्ता यसका मुख्य दृश्य हुन्।
उनकी पत्नी भन्छिन्, ‘जब पनि घर फर्केर आउनु, कथा लिएर आउनु, चोटका निशान होइन।’
ट्रेलरले युद्धको औचित्यमाथि पनि प्रश्न उठाएको छ। सलमानको पात्रले युद्ध घोषणा गर्नेहरूलाई पनि अग्रपंक्तिमा सैनिकसँगै लड्न पठाउने हो भने युद्ध नै नहुने तर्क गर्छन्।
ट्रेलरको अन्त्यमा उनले मानवता र देशभक्तिको अर्थबारे सन्देश दिएका छन्। उनी भन्छन्, ‘मानवता र देशभक्ति शत्रुलाई समाप्त पार्नुमा होइन, शत्रुता समाप्त पार्नुमा छ।’
