काठमाडौं । रेखा थापा र सवीर श्रेष्ठ आफ्नो परिचित फिल्मी स्टाइलसहित दर्शकमाझ फर्किने तयारीमा छन् । ‘कसले चोर्यो मेरो मन’ बाट सुरु भएको यी दुईजनाको सहकार्य ‘३६ को आँकडा’ सम्म आइपुगेको छ ।
प्रदर्शन तयारीमा रहेको फिल्मको ट्रेलर युट्युबमा आइतबार सार्वजनिक भएको छ । रेखा र सवीरसँग परिचित दर्शकले यी दुईको मेकिङ शैलीको स्वाद ट्रेलरमा महसुस गर्न सक्छन् । फिल्म भने मल्टिस्टारर देखिन्छ जहाँ, रेखा प्रहरीको अनुसन्धान अधिकृतको भूमिकामा देखिएकी छन् ।
निरुता सिंह, महेश त्रिपाठी, पुष्प खड्का, पूजा शर्मा पनि शीर्ष भूमिकामा छन् । रेखाको मुख्य पात्रलाई यस्तो पारिवारिक समस्या समाधान गर्नुपर्ने नैतिक संकट आइपुग्छ जहाँ, उनी कर्तव्य र नैतिकताको सीमाले बाँधिएकी छन् ।
एक्सन, कमेडी र परिवारिक कथावस्तु यसमा छ । रेखा आफ्नो परिचित संवाद शैलीसँगै ट्रेलरमा प्रस्तुत छिन् । एक संवादमा उनी भन्छिन्, ‘एरिया त कुकुरको हुन्छ। बाघले जहाँ पाइला राख्छ, आफ्नो घर बनाउँछ।’
अर्को बलियो संवाद छ- ‘बर्दी लगाएको प्रहरी सामान्य हुँदैन नेताज्यू, प्रधानमन्त्रीको हातमा पनि हतकडी लगाउने हैसियत राख्छ ।’ ट्रेलरमा प्रशस्त पन्चलाइन प्रस्तुत गरिएको छ ।
निरूता रेखाकी आमाको भूमिकामा रहेको ट्रेलरले देखाउँछ। निरूताको संवाद ‘चाहेर गल्ती हुँदैन, गल्ती परिस्थितिले गर्दा हुन्छ’ ले आमा-छोरीबीच विगतका केही घटनालाई लिएर असमझदारी रहेको संकेत गर्छ। रेखा, निरूता र पूजा शर्मा पहिलोपटक एउटै पर्दामा देखिन लागेका हुन्।
फरक पुस्ताका यी तीन लोकप्रिय अभिनेत्रीको सहकार्यले पनि फिल्मप्रति चासो छ। फिल्ममा अभिनेता महेश त्रिपाठी र पुष्प खड्काको समेत मुख्य भूमिका छ।
रेखा फिल्मस् र काइट्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म यही मंसिर १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठ निर्माता रहेको फिल्मको कथा सबिर श्रेष्ठले लेखेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीको छ।