काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव मिस्रीले सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेको सचिवालयले जनाएको छ ।
उक्त भेटवार्तामा लामिछानेले विगतमा भएको भारतको औपचारिक भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुकबीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिएका थिए ।
साथै, उनले दुई देशबीच विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको उल्लेख गरेका थिए ।
भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल तथा भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो । दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको थियो ।
