काठमाडौं । बलिउड अभिनेता रणवीर कपुरले रामायणको सफलतामा खुशी साट्दै नेपाली दर्शकलाई धन्यवाद दिएका छन् । एक भिडियो सन्देशमा उनले नेपाली दर्शकप्रति आभार व्यक्त गरेका हुन् ।
उनले भिडियोमा भनेका छन्, ‘नमस्ते नेपाल । रामायण : राइज अफ लेजेन्डमा मैले श्रीरामको भूमिका निर्वाह गरेको छु । रामायणलाई यति धेरै माया दिनुभएकोमा तपाईंहरू सबैलाई हृदयदेखि धन्यवाद । तपाईंको साथले यो यात्रा अझै विशेष बनेको छ । तपाईंको नजिकैको सिनेमा घरमा भेट्नेछौं ।’
नितेश तिवारी निर्देशित यो फिल्म अहिले पनि नेपालका हलमा प्रदर्शन भैरहेको छ । यो फिल्मले नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्मको रुपमा कीर्तिमान रचेको वितरकले बताएपनि चलचित्र विकास बोर्डले भने यसको स्वतन्त्र पुष्टि गरेको छैन ।
यद्यपि, फिल्मले नेपालमा उछाल कमाइ गरेको कुरामा दुईमत छैन । हिन्दु धर्मावलम्वी बहुल नेपालसँग रामायणको किस्सा पनि जोडिएको छ । मिथिलाका राजा जनककी पुत्री सीताको जन्म जनकपुरमा भएको कहावत रामायणमा उल्लेख छ ।