नयाँदिल्ली । भारतीय फिल्म ‘रामायण’को टोलीले केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेट गरेको छ।
फिल्मले प्रदर्शनको २१ दिनमा विश्वव्यापी बक्स अफिसमा १ हजार ७५५ करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेपछि टोलीले बिहीबार नयाँदिल्लीमा शाहसँग भेट गरेको हो।
भेटमा फिल्मका निर्देशक नितेश तिवारी, अभिनेता रणवीर कपुर, अभिनेत्री साई पल्लवी, निर्माता नमित मल्होत्रा र सहनिर्माता निरज संघाई सहभागी थिए।
शाहले हिन्दू महाकाव्य रामायणलाई आधुनिक चलचित्र प्रविधिमार्फत ठूलो पर्दामा प्रस्तुत गर्ने प्रयासको प्रशंसा गरेका छन्।
उनले भगवान् रामले आफ्नो जीवनमार्फत स्थापित गरेका कर्तव्य, त्याग र इमानदारीका आदर्शलाई आधुनिक फिल्म निर्माण प्रविधिको प्रयोग गरेर नयाँ पुस्तासम्म पुर्याउने प्रयासका लागि टोलीलाई बधाई दिएका छन्।
शाहले सामाजिक सञ्जाल एक्समा भेटका तस्बिर सार्वजनिक गर्दै फिल्म टोलीको प्रयासको प्रशंसा गरेका हुन्।

नोभेम्बर ५ मा प्रदर्शनमा आएको ‘रामायण : पार्ट १’ ले तीन सातामै विश्वव्यापी बक्स अफिसमा १ हजार ७५५ करोड ५० लाख भारतीय रुपैयाँ कमाएको व्यापारिक विवरणमा उल्लेख छ। यससँगै फिल्म विश्वव्यापी कमाइका आधारमा सर्वाधिक कमाउने भारतीय फिल्ममध्ये चौथो स्थानमा पुगेको छ।
फिल्मको भारतभित्रको कुल नेट कमाइ ९८२ करोड ५५ लाख भारतीय रुपैयाँ पुगेको छ भने विदेशबाट ५८२ करोड भारतीय रुपैयाँ संकलन भएको छ। व्यापारिक विवरणअनुसार फिल्मले अल्लु अर्जुन अभिनीत ‘पुष्पा २’ को विश्वव्यापी कमाइलाई समेत उछिनेको छ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुरले भगवान् राम, साई पल्लवीले माता सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन्।
‘रामायण’ दुई भागमा निर्माण भइरहेको छ। यसको पहिलो भाग अहिले हलमा प्रदर्शन भइरहेको छ।
