काठमाडौं । नेपाल प्रहरीले फौजदारी मुद्दाको अनुसन्धानका क्रममा संकलित गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा सार्वजनिक नगर्न चेतावनी दिएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनधिकृत रूपमा चुहावट भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीत हुने विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले प्रहरी नियमावली, २०७१ को नियम ७९ (आचरणसम्बन्धी व्यवस्था) उल्लंघनको कसुरमा नियम १०९ र ११३ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ (२), (४) र (५) बमोजिम कारबाही हुन सक्ने जनाएको छ । यस्तो गतिविधिमा संलग्न हुने व्यक्तिमाथि आवश्यक विभागीय तथा कानुनी कारबाही हुन सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
नेपाल प्रहरीमा कार्यरत तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन, सार्वजनिक नगर्न र त्यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन निर्देशन दिइएको छ ।
त्यस्तै, यस्ता गैरकानुनी गतिविधिमा पूर्वप्रहरी कर्मचारी वा बहालवाला प्रहरी कर्मचारी संलग्न भएको अथवा त्यस्ता कार्यलाई प्रोत्साहन, सहयोग वा सहजीकरण गरेको पाइएमा आवश्यक छानबिन गरी विभागीय तथा कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।
