काठमाडौँ । परराष्ट्र मन्त्रालयले साउदी अरबमा भएका पछिल्ला आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । घटनामा ३ नेपाली घाइते भएको भन्दै मन्त्रालयले उनीहरूको अवस्थाबारे पनि चासो व्यक्त गरेको छ ।
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घाइतेमध्ये एक जना उपचारपछि निको भएको र अन्य दुई जनाको उपचार भइरहेको जनाएको छ ।
साउदी अरबमा पछिल्लो समय भएका आक्रमण र क्षेत्रीय सुरक्षा चिन्ताबीच मन्त्रालयको विज्ञप्ति आएको हो । २४ नोभेम्बरमा रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एक टावरमा भएको आक्रमणमा ३ नेपालीसहित ११ जना घाइते भएको साउदी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार सार्वजनिक भएका थिए । उक्त आक्रमणमा यमनको हुथी विद्रोही समूहको संलग्नता रहेको साउदी नागरिक सुरक्षा निकायले आरोप लगाएको थियो ।
मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
यसअघि २१ अक्टोबरमा साउदी अरामकोको शैबाह तेल क्षेत्रमा अवरोध गरिएको ड्रोनका टुक्रा खस्दा नेपाली श्रमिक भरत महतोको मृत्यु भएको थियो । पछिल्लो विज्ञप्तिमा भने मृत्यु भएका नेपालीको पहिचान, घटना भएको स्थान र मिति खुलाइएको छैन ।
