Paywear Banner Desktop
Paywear Banner Desktop
समाचार विश्लेषण

एनभिडिया प्रमुखको प्रेम सम्बन्ध प्रकरणले अमेरिका मात्र होइन, विश्व नै तरंगित हुनसक्छ

बीबीसी । बहु-खर्ब डलर मूल्यको प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसेन हुआङमाथि आफ्नै कम्पनीले अनुसन्धान थालेको खबरले प्रविधि क्षेत्रमा नयाँ तरंग पैदा गरेको छ। चिनियाँ जासुस भएको आरोप लागेकी एक महिलासँग विवाहेत्तर सम्बन्ध रहेको विषयमा कम्पनीले अनुसन्धान गरिरहेको हो।

सन् २०२६ मा यस्तो खबर आउला भन्ने कल्पना सायदै कसैले गरेको थियो।

सिंगापुरमा आधारित डाटा सेन्टर कम्पनीकी पूर्वप्रमुख कार्यकारी अधिकृत एलिस हुआङ (पारिवारिक सम्बन्ध नभएकी) सँग जेनसेनको कथित प्रेम सम्बन्धले उनको पारिवारिक जीवनमा मात्र होइन, त्यसको प्रभाव प्रविधि, भूराजनीति र राष्ट्रिय सुरक्षासम्म फैलिएको छ।

यो प्रकरणको मूल विषय अमेरिका र चीनबीचको तीव्र प्रतिस्पर्धा हो। साथै, जेनसेनले आफ्नी पत्नी मात्र नभई अमेरिकालाई समेत धोका दिएका हुन् कि भन्ने प्रश्न पनि यससँग जोडिएको छ।

अमेरिका र चीन उत्कृष्ट कृत्रिम बौद्धिकता (एआई) प्रविधि विकास गर्ने प्रतिस्पर्धामा छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेझैँ, ‘जसले एआई जित्छ, उसैले जित्छ।’ उनको विश्वासमा एआई प्रविधिमा प्रभुत्व जमाउने देशले त्यसबाट सबैभन्दा बढी लाभ लिनुका साथै अन्ततः विश्वकै शक्तिशाली राष्ट्र बन्नेछ। उनको आकलन सही पनि हुन सक्छ।

एनभिडिया एआईका लागि विश्वकै उत्कृष्ट चिप उत्पादन गर्ने कम्पनीमध्ये अग्रणी छ। यसका उत्पादनको माग यति धेरै छ कि कम्पनीले माग धान्नसमेत कठिनाइ भोगिरहेको छ।

कम्पनीले मूल्य पनि सोहीअनुसार निर्धारण गरेको छ। डाटा सेन्टरका लागि कम्पनीको पछिल्लो उपकरणको एउटा युनिटको मूल्य ३७ हजार पाउन्ड (५० हजार अमेरिकी डलर) बाट सुरु हुन्छ। मध्यम वा ठूलो आकारको एउटा डाटा सेन्टरमा यस्ता सयौँ उपकरण हुन सक्छन्।

चीनले एनभिडियाका अत्याधुनिक उपकरणको क्षमताबाट फाइदा उठाउन नपाओस् भन्ने उद्देश्यले अमेरिकी प्रशासनले सुरुमा ती उपकरणको निर्यातमा प्रतिबन्ध लगाएको थियो। पछि भने उसले नियम केही खुकुलो बनाएको छ।

तर, एलिस हुआङ प्रमुख रहेका बेला उनको कम्पनी मेगास्पिडले ती उपकरण लुकिछिपी चीन पुर्‍याउन भूमिका खेलेको हुन सक्ने आशंका गरिएको छ। ब्लुमबर्गका अनुसार मेगास्पिडले सन् २०२५ नोभेम्बरमा अर्बौँ डलर मूल्यका एनभिडियाका प्रविधि खरिद गरेको थियो। यद्यपि, ती उपकरण अवैध रूपमा प्रयोग गरिएको भन्ने आरोप कम्पनीले अस्वीकार गरेको छ।

अर्कोतर्फ, जेनसेन हुआङले अमेरिका र चीनबीचको निर्यातसम्बन्धी नियम खुकुलो बनाउन लामो समयदेखि पैरवी गर्दै आएका छन्। एआई प्रतिस्पर्धा त्यति महत्त्वपूर्ण नभएको र चीन अमेरिकी प्रविधिमा निर्भर हुनु नराम्रो कुरा नभएको उनको तर्क छ। यो धारणा व्यापक रूपमा व्यक्त हुँदै आएको मतभन्दा फरक छ।

गत वर्ष बीबीसीसँगको कुराकानीमा उनले भनेका थिए, ‘राष्ट्रपति ट्रम्प अमेरिका विजयी भएको चाहनुहुन्छ र राष्ट्रपति सी चीन विजयी भएको चाहनुहुन्छ। दुवैका लागि त्यो सम्भव छ।’

तर, दुवै देशले यस विषयलाई त्यसरी हेर्छन् भन्ने मान्न सकिँदैन।

अब एनभिडियाले जवाफ दिनुपर्ने कठिन प्रश्नमध्ये एउटा हो, एलिसले जेनसेनमार्फत कम्पनीको पछिल्लो प्रविधिमा विशेष पहुँच प्राप्त गरेकी थिइन् कि थिइनन्रु यदि त्यसो भएको थियो भने उनले ती प्रविधि बेइजिङ वा अन्य पक्षलाई उपलब्ध गराइन् कि गराइनन्रु

उनीहरूबीचको सम्बन्ध कहिले सुरु भयो र कहिले अन्त्य भयो भन्ने स्पष्ट छैन। तर, विभिन्न कार्यक्रममा जेनसेन र एलिस सँगै देखिएका थुप्रै तस्बिर र भिडियो सार्वजनिक भएका छन्। उनीहरूले केही अवसरमा लामो समय सँगै बिताएको हुन सक्ने सम्भावना छ। जेनसेनले आफूले सधैँ आफ्नो काममा ध्यान दिइरहने गरेको पनि बताएका छन्।

चीनले भने एलिस जासुसीमा संलग्न रहेको आरोप अस्वीकार गरेको छ।

आर्थिक जासुसी कुनै नयाँ विषय होइन र यो चीनमा मात्र सीमित पनि छैन। तर, धेरै पश्चिमी देशले चीनले प्रविधिका विभिन्न माध्यम र निजी कम्पनीसहित विभिन्न संस्थामा आबद्ध गरिएका आफ्ना एजेन्ट प्रयोग गरेर ठूलो स्तरमा आर्थिक जासुसी गर्ने गरेको आरोप लगाउँदै आएका छन्।

एनभिडियाका पर्याप्त चिप चीनको पहुँचमा पुगेर त्यहाँ प्रयोग हुन थालेमा वा ती चिप खोलेर तिनको प्रविधि अध्ययन गरी आफ्नै संस्करण निर्माण गर्न सक्ने अवस्था आएमा ट्रम्प प्रशासन आक्रोशित हुने निश्चित छ। अमेरिकी प्रशासन आफ्नो एआई प्रविधिलाई अन्य देशको पहुँचबाट टाढा राख्न चाहन्छ।

केही एआई मोडल सम्भावित रूपमा अत्यधिक जोखिमपूर्ण हुन सक्ने भन्दै अमेरिकाले बेलायतस्थित एआई सेफ्टी इन्स्टिच्युटलाई समेत उपलब्ध गराएको छैन। अमेरिकी प्रशासन आफ्नो प्रविधिमा अरू कसैले अग्रता हासिल गरोस् वा आफ्ना आविष्कारको दुरुपयोग गरोस् भन्ने चाहँदैन।

यस प्रकरणको अर्को सम्भावित गम्भीर पक्ष जेनसेन हुआङलाई जानकारी भएको अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी सूचना पनि हो।

उनी अमेरिकी उच्च राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली स्थानमा रहेका व्यक्ति हुन्। उनी त्यस्ता सीमित व्यक्तिमध्ये पर्छन्, जो सम्भवतः कुनै पूर्वसूचनाबिना ह्वाइट हाउस पुगेर ट्रम्पसँग चिया पिउन सक्छन्। उनको प्रभाव छ, पहुँच छ र शक्तिशाली व्यक्तिहरूसँग निकट सम्बन्ध छ। उनलाई केही गोप्य सूचना दिइएको हुन सक्ने सम्भावना पनि छ।

एनभिडियाका अनुसार अहिलेसम्म जेनसेनले कुनै सूचना बाहिर पुर्‍याएको प्रमाण भेटिएको छैन। कम्पनीले यस विषयमा आन्तरिक अनुसन्धान थालेको छ।

हुआङले अनुसन्धानमा सहयोग गर्ने बताएका छन्। उनले आफ्नो पदसमेत कायम राख्न चाहेका छन्। तर, यस प्रकरणले एनभिडियाको आफ्नै आचारसंहिता उल्लंघन गरेको देखिन्छ। उक्त आचारसंहिताले कम्पनीका सदस्यलाई ग्राहकसँग व्यक्तिगत सम्बन्ध राख्न निषेध गरेको छ।

तर, के उनी आफ्नो पदमा टिकिरहन सक्लान् ?

अहिलेसम्म एनभिडियाको सञ्चालक समिति र ट्रम्प दुवैको समर्थन उनीसँग छ। ट्रम्पले उनलाई ‘सम्माननीय’ व्यक्ति भनेका छन् र यो घटना हुनुको पछाडि कुनै कारण हुन सक्ने अनुमान गरेका छन्। अर्थात्, ट्रम्प आफ्ना प्रविधि क्षेत्रका निकट सहयोगीलाई संकटमा एक्लै छाड्ने पक्षमा देखिएका छैनन्।

एनभिडियाको सेयर मूल्य घटेको छ। तर, ठूलो गिरावट आएको छैन। यसले जेनसेनको नेतृत्वप्रति लगानीकर्ताले सामूहिक रूपमा विश्वास गुमाइसकेको अवस्था नरहेको संकेत गर्छ।

जेनसेनको नेतृत्व कमजोर भएको एनभिडियाले समग्र एआई उद्योगको गति सुस्त बनाउन सक्छ।

त्यसैगरी, उनी पदबाट बाहिरिनुपर्ने अवस्था आएमा उनको स्थान लिन तयार अवस्थामा रहेको स्वाभाविक उत्तराधिकारी पनि कम्पनीसँग देखिँदैन।

हुआङले ३० वर्षभन्दा बढी समयदेखि एनभिडियाको नेतृत्व गर्दै आएका छन्। धेरैका लागि उनी नै एनभिडिया हुन्। उनले कम्पनीलाई विभिन्न संकटबाट अघि बढाएका छन्। एआई लोकप्रिय हुनुअघि नै कम्पनीलाई यस क्षेत्रमा केन्द्रित गर्ने निर्णय पनि उनैले गरेका थिए।

उनी कर्मचारीबाट लामो समय काम र उच्चस्तरको कार्यसम्पादन अपेक्षा गर्ने कडा स्वभावका प्रमुखका रूपमा चिनिन्छन्। गल्ती गर्ने कर्मचारीलाई सबै कर्मचारीको बैठक बोलाएर सार्वजनिक रूपमा हप्काउने गरेको प्रसंग पनि सुनिने गरेको छ। अरूले त्यही गल्ती नदोहोर्‍याऊन् भनेर आफूले त्यसो गरेको उनको भनाइ छ। तर, त्यस्तो अवस्थामा सम्बन्धित कर्मचारीलाई कस्तो महसुस हुन्थ्यो होला भन्ने अनुमान गर्न कठिन छैन।

आफ्नो व्यवहारबारेको अनुसन्धानको निष्कर्ष पर्खिरहेका जेनसेनले विगतमा सहकर्मीका गल्तीप्रति सहनशीलता नदेखाएका भए पनि यसपटक आफ्नै कमजोरीमा उनीहरूले उदारता देखाउने आशा गर्नुपर्नेछ।

अझ विडम्बनाको कुरा, अत्याधुनिक प्रविधिको कुनै जटिल जालमा परेर होइन, बरु जासुसीको पुरानै तरिकामध्ये एक ‘हनी ट्र्याप’ अर्थात् प्रेमसम्बन्धको पासोमा परेर उनी समस्यामा परेको हुन सक्ने अवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!