पोखरा । लोकप्रिय गायक विपुल क्षेत्रीले तालनगरी पोखरामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने भएका छन्। क्षेत्री र उनको सांगीतिक समूह ‘विपुल क्षेत्री लाइभ इन पोखरा’ आगामी कात्तिक १३ गते शुक्रबार पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा आयोजना हुने भएको हो।
एक्सट्रिम इनर्जी ड्रिंक्सको प्रस्तुतिमा हुन लागेको उक्त कार्यक्रम प्रचार नेपाल प्रालिको आयोजनामा हुन लागेको हो। बिपुलको नेपाल भ्रमणअन्तर्गत सञ्चालन भइरहेको ‘प्रवाह नेपाल टुर २०२६’ को यो एक महत्त्वपूर्ण प्रस्तुति हो। उक्त टुरको व्यवस्थापन तथा सञ्चालन ताक्षक इन्टरटेनमेन्ट र प्रोजेक्ट स्टुडियोले गरिरहेका छन्।
कार्यक्रमका लागि प्रारम्भिक चरणका टिकट बिक्री खुला भइसकेका छन्। दर्शकले खल्ती एप तथा अनलाइन प्लेटफर्ममार्फत टिकट खरिद गर्न सक्नेछन्।
क्षेत्री मौलिक गायन शैली, लोकसंगीतको प्रभाव तथा एकुस्टिक संगीतका लागि परिचित छन्। उनका गीतले नेपालसँगै विदेशमा रहेका नेपाली संगीतप्रेमीमाझ समेत लोकप्रियता हासिल गरेका छन्।
लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने कार्यक्रमले पोखराका स्थानीय दर्शकसँगै गण्डकी प्रदेशका विभिन्न जिल्ला तथा अन्य सहरबाट आउने संगीतप्रेमीलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।
प्रचार नेपालका सञ्चालक आशिष पुरीले पोखरामा गुणस्तरीय प्रत्यक्ष सांगीतिक कार्यक्रम आयोजना गर्ने उद्देश्यले कन्सर्टको तयारी अघि बढाइएको जानकारी दिए।
उनका अनुसार कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र दर्शकमैत्री बनाउन आवश्यक तयारी गरिनेछ। साथै, यस्ता कार्यक्रमले पोखरालाई सांगीतिक तथा मनोरञ्जनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न र स्थानीय पर्यटन तथा मनोरञ्जन क्षेत्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम संयोजक महेश्वरसिंह भण्डारीका अनुसार संगीतसँगै खानाका स्टल र अन्य सांगीतिक प्रस्तुतिहरू कार्यक्रमका थप आकर्षणका रूपमा रहनेछन्। कार्यक्रम स्थलमा खानाका परिकारको स्वाद लिनुका साथै सांगीतिक माहोलमा रमाउन सकिने आयोजकले जनाएको छ।