गोरखा । बुढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् । बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ । यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बाढीले चुमनुब्रीगाउँपालिका- ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ । बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ ।
बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम
बुढीगण्डकी बाढी जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ।
चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ।
बाढीसम्बन्धी जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ।