नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सम्पन्न उच्चस्तरीय द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा ती समझदारी सार्वजनिक गरिएको हो ।
समझदारीमा शैक्षिक तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार यस्ता छन् भारत-नेपालबीच भएका समझदारीहरू :
१) भारतको गुजरात राज्यको गान्धीनगरस्थित राष्ट्रिय विधिविज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी ।
२) भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच समझदारी ।
३) भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी समझदारी ।
४) आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको क्षेत्रमा सहकार्यासम्बन्धी नेपाल सरकार र भारत सरकारबीच समझदारी ।
५) दक्षिण एसिया भूउपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने विषयमा भारत सरकारको अन्तरिक्ष अनुसन्धान सङ्गठन र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारी ।
६) दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्यासम्बन्धी नेपाल सरकार र भारत सरकारबीच समझदारी ।
७) स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्यासम्बन्धी भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारी ।
८) पशुपन्छी तथा मत्स्य विकासको क्षेत्रमा सहकार्यासम्बन्धी नेपाल सरकार र भारत सरकारबीच समझदारी ।