काठमाडौँ । नीर शाहको शीर्ष भूमिका रहने कथानक फिल्म ‘हजुरबाले भनेथे’ निर्माण हुने भएको छ । सुरेश न्यौपानेले निर्देशन गर्ने यो फिल्मलाई सान्भी इन्टरटेनमेन्टको ब्यानरमा बनाइनेछ ।
तिहार लक्ष्मीपूजाको अवसरमा आइतबार फिल्मको निर्माण घोषणा गरियो । ए टु जेड क्लीनिङ सप्लाएर्स कम्पनीकासिड्नीको तर्फबाट कृष्ण थापा, बन्धुराज वाग्ले ,रोमिन पिया ,समीर शाहीको प्रस्तुति रहने फिल्मका निर्माता निरोज श्रेष्ठ हुन् । कार्यकारी निर्माता नवीन घायल रहने फिल्मको सह निर्माता हिमाल भण्डारी रहने छन् ।
यस फिल्ममा शाहले हजुरबुबाको भूमिका निर्वाह गर्ने जनाइएको छ । उनको नातिको भूमिकामा अभिनय गर्ने कलाकारको टुंगो लागिसकेको छैन । फिल्ममा दुई नायक र दुई नायिका रहने छन् ।
माघ महिनादेखि छायांकन सुरु हुने फिल्म नेपाल र अस्ट्रेलियामा छायांकन हुने बताइएको छ । ‘परान’पछि अभिनेता शाह शीर्ष भूमिकामा देखिन लागेका हुन् ।
यो फिल्म एउटा कमेडी तथा पारिवारिक कथामा बन्नेछ । ‘यस फिल्मको लक्ष्य दर्शकलाई धेरै हँसाउने र थोरै रुवाउने रहनेछ’ निर्माताले भनेका छन् ।