लन्डन । बलात्कार र यौन दुर्व्यवहारका मुद्दामा दोषी ठहरिएका बेलायती पूर्वअभिनेता तथा कमेडियन रसेल ब्रान्डलाई १० वर्षको जेल सजाय सुनाइएको छ।
गत साता लन्डनमा भएको आपराधिक मुद्दाको सुनुवाइपछि उनलाई बलात्कारको एउटा र यौन दुर्व्यवहारका तीनवटा अभियोगमा दोषी ठहर गरिएको थियो।
बलात्कारको अभियोगमा उनलाई १९ वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्ने अवस्था थियो। यौन दुर्व्यवहारको अभियोगमा भने अधिकतम १० वर्ष कैद सजायको व्यवस्था छ।
बिहीबार अदालतले ब्रान्डलाई बलात्कारको एउटा र यौन दुर्व्यवहारका तीनवटा अभियोगमा दोषी ठहर गरेको थियो। अन्य दुईवटा बलात्कारका अभियोग र अश्लील प्रकृतिको दुर्व्यवहार गर्ने प्रयाससम्बन्धी एउटा अभियोगमा भने उनलाई दोषी ठहर गरिएन।
अदालतले ससर्त धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। स्काई न्युजका अनुसार अदालतबाट कारागार कक्षतर्फ लैजाने क्रममा ब्रान्डले आफ्ना वकिलहरूलाई मुखले ‘म ठीक छु’ र ‘म राम्रो छु’ भनेका थिए। उनले औँठा उठाएर संकेतसमेत गरेका थिए।
अदालतमा फैसला सुनाउँदा ब्रान्डले कुनै स्पष्ट प्रतिक्रिया देखाएनन्। उनलाई धरौटीसम्बन्धी निवेदनको सुनुवाइअघि कारागार कक्षमा लैजाने क्रममा उनकी पत्नी लाउरा ग्यालाचर भने अदालत कक्षबाट हतारिँदै बाहिरिएकी थिइन्।
ब्रान्डमाथि सन् १९९९ देखि २००९ सम्म विभिन्न स्थानमा तीन महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो। तीमध्ये एक महिलाले मुखमैथुनमार्फत बलात्कार गरेको आरोपसँगै यौन दुर्व्यवहारको आरोपसमेत लगाएकी थिइन्।
त्यस्तै, सन् २००१ मा एमटीभीको बेलायतस्थित कार्यालयमा अश्लील प्रकृतिको दुर्व्यवहार गर्ने प्रयास गरेको र सन् २००९ मा यौन दुर्व्यवहार गरेको अभियोग पनि उनीमाथि लगाइएको थियो।
अदालतको सुनुवाइ सकिएपछि मेट्रोपोलिटन प्रहरीले अन्य दुई महिलाले लगाएका बलात्कारसम्बन्धी आरोपमा समेत ब्रान्डमाथि अनुसन्धान भइरहेको पुष्टि गरेको छ।
ब्रान्डमाथिका आरोप सन् २०२३ मा सार्वजनिक भएका थिए। द सन्डे टाइम्स र च्यानल ४ को कार्यक्रम ‘डिस्प्याचेज’ले संयुक्त रूपमा सार्वजनिक गरेको वृत्तचित्र शृंखलामार्फत ती आरोप सार्वजनिक भएका थिए।
यसअघि ब्रान्ड कमेडियनका रूपमा परिचित थिए। उनले ‘फर्गेटिङ सारा मार्सल’ र ‘गेट हिम टु द ग्रीक’ जस्ता फिल्ममा अभिनय गरेका थिए।