Paywear Banner Desktop
Paywear Banner Desktop

नेपाली र भारतीय निर्माताको सहकार्यमा फिल्म ‘मोनालिसा : ब्लडी लभ’ बन्ने

काठमाडौं । नेपाल र भारतका निर्माणको संयुक्त लगानीमा फिल्म ‘मोनालिसा : ब्लडी लभ’ निर्माण हुने भएको छ । तिहारको अवसर पारेर निर्माताले फिल्मको पहिलो झलक सार्वजनिक गरेका छन् ।

पीजी स्टुडियोको प्रस्तुतिमा प्रशान्त गिरीले निर्माण गर्न लागेको यस फिल्मलाई अन्तर्राष्ट्रिय स्तरको स्केलमा निर्माण गर्ने लक्ष्य राखिएको छ । लेखन तथा निर्देशनको जिम्मेवारी किङ योगीले सम्हाल्नेछन् भने सचित खड्का कार्यकारी निर्माताका रूपमा रहनेछन्।

फिल्मको पूर्वनिर्माण अर्थात् तयारीको काम हाल भारतको हैदराबाद र बैंगलोरमा भइरहेको निर्माण पक्षले जनाएको छ। छायाङ्कन असारदेखि सुरु गर्ने तयारी गरिएको छ।

करिब ३० प्रतिशत छायाङ्कन नेपालमा र बाँकी ७० प्रतिशत भारतमा गरिनेछ। भारतको रामोजी फिल्म सिटीमा समेत महत्वपूर्ण दृश्यहरू छायाङ्कन गर्ने योजना छ ।

फिल्ममा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ। फिल्ममा केही नेपालीसहित भारतीय कलाकार पनि देखिने जनाइएको छ । यद्यपि, कलाकारको नाम सार्वजनिक हुन बाँकी छ ।

ठूलो बजेट र अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डलाई ध्यानमा राखेर निर्माण गर्न लागिएको फिल्मको सम्पादन, रङ संयोजन, ध्वनि डिजाइन, दृश्य प्रभाव, डिजिटल इन्टरमिडियट तथा प्रचार सामग्रीको डिजाइनलगायत प्रदर्शनपछिका अधिकांश काम भारतका प्रतिष्ठित कम्पनी र अनुभवी प्राविधिक टोलीसँगको सहकार्यमा गरिने निर्माण पक्षले जनाएको छ।

फिल्मलाई नेपाली र हिन्दी भाषासहित पाँचवटा भाषामा प्रदर्शन गर्ने तयारी भइरहेको छ। अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित विश्वका अग्रणी ओटीटी अर्थात् इन्टरनेटमार्फत फिल्म हेर्न सकिने डिजिटल प्लेटफर्मसँग वितरण तथा प्रदर्शनका विषयमा छलफल भइरहेको पनि निर्माण पक्षले जानकारी दिएको छ।

पहिलो झलक सार्वजनिक भएसँगै कथावस्तु, कलाकार, निर्माण पक्ष र अन्तर्राष्ट्रिय प्रदर्शन योजनाबारे दर्शकमा उत्सुकता बढ्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!