काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारी आन्दोलित भएका छन् । प्रतिष्ठान ऐन तथा नियमावलीका सम्बन्धमा सरोकारवालासँग छलफल नगरी अध्यादेश ल्याइएको भन्दै उनीहरुले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् ।
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिई तत्काल राजीनामा दिन उनीहरुको माग छ । प्रतिष्ठानको प्रांगणमा प्रदर्शन गर्दै उनीहरुले प्रतिष्ठानको ऐन तथा नियमावली सरोकारवालासँग छलफल नगरी ल्याइएको र आफ्ना सुझाव बेवास्ता गरिएको बताए ।
प्राविधिक अधिकृत समुन्द्र कँडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको बताए ।
सुधारका नाममा विद्यमान संस्था कमजोर पार्ने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने, दक्ष जनशक्ति पलायन गराउने कदम स्वीकार्य नहुने उनको भनाइ छ । अब बनाइने विज्ञान नीतिले देशको विज्ञान तथा अनुसन्धानको भविष्यको र्मा निर्धारण गर्ने भएको कँडेलले बताए ।
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ तथा नियमावली वैज्ञानिकमैत्री नभएकाले तत्काल खारेज गर्न उनले माग गरे ।
अध्यादेश र नियमावलीका नाममा भएको मनोमानी तथा नवनियुक्त समिति सदस्यलाई समेत जानकारीमा नराखी निर्णय गर्ने काम बन्द गर्न कर्मचारीहरुको माग छ ।
संस्थामाथि मन्त्रालय र मन्त्रीको दबाब तथा हस्तक्षेप बन्द गर्न, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति बनाउन, संस्थाको सक्षम नेतृत्व खुला विज्ञापन र प्रतिष्पर्धाबाट चयन गर्न, साविकको ऐनअन्तर्गत नियुक्त सबै कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्न पनि माग गरेका छन् ।
