काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् १९७७ मा प्रक्षेपण गरेको अन्तरिक्षयान भ्वाएजर-१ नोभेम्बर १८ मा पृथ्वीबाट एक प्रकाशदिनको दूरीमा पुग्ने भएको छ। यो उपलब्धि हासिल गर्ने भ्वाएजर-१ पहिलो मानव निर्मित वस्तु बन्नेछ।
नासाका अनुसार बुधबार नोभेम्बर १८ मा नेपाली समयअनुसार दिउँसो ३ बजेर १ मिनेटमा भ्वाएजर-१ पृथ्वीबाट १६ अर्ब ९ करोड ४० लाख माइल (२५ अर्ब ९० करोड २० लाख किलोमिटर) टाढा पुग्नेछ।
एक प्रकाशदिन भनेको प्रकाशले एक दिनमा पार गर्ने दूरी हो। भ्वाएजर-१ यति टाढा पुगेपछि पृथ्वीबाट पठाइएको रेडियो सन्देश त्यहाँ पुग्न २४ घण्टा लाग्नेछ। त्यहाँबाट पठाइएको जवाफ पृथ्वीमा आइपुग्न थप २४ घण्टा लाग्नेछ। यसरी एउटा सन्देश पठाएर जवाफ प्राप्त गर्न कम्तीमा ४८ घण्टा लाग्नेछ।
सन् १९७७ सेप्टेम्बर ५ मा प्रक्षेपण गरिएको भ्वाएजर-१ सुरुमा बृहस्पति र शनि ग्रहको अध्ययन गर्न निर्माण गरिएको थियो। ती ग्रहको अन्वेषणपछि यसले अन्तरतारकीय अन्तरिक्षतर्फको यात्रा अघि बढाएको हो।
सन् १९९८ को फेब्रुअरीमा नासाकै पायोनियर-१० लाई पछि पार्दै भ्वाएजर-१ मानव निर्मित सबैभन्दा टाढाको वस्तु बनेको थियो। सन् २०१२ को अगस्टमा यसले अन्तरतारकीय अन्तरिक्षमा प्रवेश गरेको थियो। त्यसो गर्ने यो पहिलो अन्तरिक्षयान हो।
भ्वाएजर-१ र यसको जुम्ल्याहा अन्तरिक्षयान भ्वाएजर-२ सूर्यबाट उत्पन्न कण र चुम्बकीय क्षेत्रले बनाएको सुरक्षात्मक क्षेत्र हेलियोस्फियरभन्दा बाहिर सञ्चालन भएका एकमात्र अन्तरिक्षयान हुन्।
४९ वर्षभन्दा बढी समयदेखि अन्तरिक्षमा रहेको भ्वाएजर-१ ले अझै पनि वैज्ञानिक तथ्यांक संकलन गरिरहेको छ। यसको सीमित हुँदै गएको ऊर्जा सञ्चित गर्न नासाका इन्जिनियरहरूले निरन्तर काम गरिरहेका छन्।
यो ऐतिहासिक उपलब्धिको अवसरमा नासाले विश्वभरका मानिसलाई नोभेम्बर १७ मा आयोजना हुने ‘शाइन ब्राइट फर भ्वाएजर्स लाइट-डे’ कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। कार्यक्रमअन्तर्गत सूर्यास्तपछि आकाशतर्फ प्रकाश चम्काएर भ्वाएजर-१ को उपलब्धि उत्सवका रूपमा मनाउन नासाले आग्रह गरेको छ।
