हेटौँडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गरिने बताएका छन् ।
शुक्रबार हेटौँडा उपमहानगरपालिका-८ स्थित औद्योगिक क्षेत्रमा रहेको उद्योगको अवलोकन गर्दै मन्त्री पुनले मेसिनको अवस्था र पुनः सञ्चालनका चुनौतीबारे जानकारी लिए ।
मन्त्री पुनले उद्योगका मेसिन निर्माण गर्ने चिनियाँ कम्पनी नै बन्द भइसकेकाले आवश्यक पार्टपुर्जा पाउन कठिनाइ रहेको बताए । तथापि, पुराना मेसिनलाई आधुनिक प्रविधिबाट सुधार गर्न सके उत्पादन सम्भव हुने उनको भनाइ थियो ।
सरकारको स्वामित्वमा रहेका पुराना उद्योगलाई अनुसन्धान, नवप्रवर्तन र प्रविधिको प्रयोगमार्फत पुनः सञ्चालन गर्न सकिने सम्भावना खोज्न आफू उद्योगको अवस्था बुझ्न आएको उनले बताए । यसका लागि छुट्टै अनुसन्धान तथा नवप्रवर्तन इकाइ स्थापना गर्नुपर्ने उनको धारणा थियो ।
उनले वीरगञ्जस्थित कृषि औजार कारखानामा करिब चार बिघा क्षेत्रफलमा अनुसन्धान केन्द्र स्थापना गर्ने र त्यसका लागि रु ७० देखि ८० करोड लगानी आवश्यक पर्ने प्रस्ताव पनि अघि सारे । अनुसन्धान तथा प्रविधि विकासमा नेपाली सेनासँग सहकार्य गर्न सकिने उनको भनाइ थियो ।
अवलोकनका क्रममा सैनिक सामग्री उत्पादन निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी मुकेश बाटाजुले मन्त्री पुनलाई उद्योगको अवस्थाबारे जानकारी गराएका थिए ।
विसं २०५७ देखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी निर्णयअनुसार अहिले परीक्षण उत्पादन भइरहेको छ । उद्योगका ४८८ मेसिनमध्ये नेपाली सेनाले मर्मत तथा सरसफाइ गरेपछि २० वटा लुमबाट कपडा बुन्ने परीक्षण सुरु गरिएको हो । बाँकी मेसिन मर्मतको क्रममा छन् ।
सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि सरसफाइ, विद्युत् प्रणाली सुधार र मेसिन मर्मतको काम अघि बढाएको थियो । परीक्षण उत्पादनका लागि सरकारले रु ३३ लाख बजेट उपलब्ध गराएको छ । हाल बाहिरबाट धागो ल्याएर पुराना मेसिनबाट कपडा बुन्ने परीक्षण भइरहेको छ ।
