काठमाडौं । फिल्म ‘ककाकिकी’को पत्रकार सम्मेलनमा कलाकार पक्राउ परेको नाटकीय दृश्य सार्वजनिक भएपछि उत्पन्न विवादमा कलाकार तथा कमेडियन मनोज गजुरेलले माफी मागेका छन् ।
फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री गौरी मल्ललगायत कलाकारलाई प्रहरीले पक्राउ गरेको दृश्य प्रस्तुत गरिएको थियो । फिल्म प्रचारको हिस्सा रहेको उक्त दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि वास्तविक पक्राउको घटनाजस्तो देखिएको भन्दै आलोचना भएको थियो ।
उक्त घटनामा आफू पनि सहभागी भएको स्वीकार गर्दै गजुरेलले सामाजिक सञ्जालमार्फत दर्शकमा भ्रम सिर्जना भएको र असुविधा पुगेको भन्दै क्षमायाचना गरेका हुन् ।
‘हिजो चलचित्र ‘ककाकिकी’का लागि खिचिएको दृश्य र प्रचारात्मक प्रस्तुतिका कारण धेरै दर्शकमा भ्रम सिर्जना हुन पुग्यो,’ उनले लेखेका छन्, ‘म व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासमा आस्था राख्ने मान्छे हुँ । तर हिजोको प्रस्तुतिमा म स्वयं पनि सहभागी हुन पुगेँ । यसबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमाप्रार्थी छु ।’
गजुरेलले समाजको मनोविज्ञान संवेदनशील रहेको अवस्थामा मनोरञ्जनका नाममा अनावश्यक भ्रम सिर्जना गर्नु उचित नभएको बताएका छन् । प्रचारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारी पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ ।
नियत राम्रो भए पनि कहिलेकाहीँ निर्णयमा त्रुटि हुन सक्ने उल्लेख गर्दै उनले त्यसलाई स्वीकार्नु र सुधार्नु सर्जकहरूको दायित्व भएको बताएका छन् ।
‘राम्रो सिर्जनाको सबैभन्दा बलियो प्रचार स्वयं सिर्जनाको गुणस्तर हो,’ उनले लेखेका छन् ।
साथै, एउटा फिल्म धेरै कलाकार र प्राविधिकको मेहनतबाट निर्माण हुने भएकाले प्रचारको एउटा प्रक्रिया वा शैलीका आधारमा समग्र सिर्जनाको मूल्याङ्कन नगर्न पनि उनले दर्शकसँग आग्रह गरेका छन् ।
यसअघि यही प्रकरणमा श्रमशक्ति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अभिनेत्री गौरी मल्ललाई लक्षित गर्दै आफूहरूको सरकार बने जेल हाल्ने र श्रमदानमा ढुंगा बोकाउने चेतावनी दिएका थिए । पक्राउको दृश्य फिल्म प्रचारका लागि गरिएको पुष्टि भएपछि उनले यसअघि लेखेको स्टाटस हटाएका थिए ।
