काठमाडौं । अहिलेका दुईजना चर्चित अभिनेताद्वय प्रदीप खड्का र पल शाहलाई शीर्ष भूमिकामा लिएर कृषा चौलागाईंले आगामी रोमान्टिक फिल्म ‘उही तिम्रो’ निर्देशन गर्ने भएकी छन् ।
तिहारको पहिलो दिन धनतेरशको अवसरमा शुक्रबार मुहूर्त पूजा गर्दै फिल्म निर्माणको घोषणा गरियो । कृषा र विशाल चौलागाईंले यो फिल्म निर्माण गर्न लागेका हुन् ।
यसअघि समेत मल्टिस्टारर फिल्म निर्माण गरेको यो टिमले यस पटक समेत दुई चर्चित अभिनेतालाई एकसाथ पर्दामा उतार्न लागेको हो ।
पल र प्रदीपले यसअघि ‘पूजार सार्की’मा एकसाथ अभिनय गरेका थिए । यी दुई कलाकारसँगै सिम्रन पन्त पनि एकसाथ देखिँदैछिन् । जुना विश्वकर्माले यही फिल्ममार्फत डेब्यू गर्दैछिन् ।

मंसिरमा म्याग्दीको रमणीय स्थलमार्फत छायांकन सुरु हुने फिल्मको अन्य भागको छायाङ्कन भने काभ्रेको बनेपामा गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना, सुरज तमु, जुना विश्वकर्मा लगायतको अभिनय रहने छ । कथा तथा संवाद अभिमन्यु निरविले लेखेका हुन ।
कृषांको निर्देशन रहने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्ने छन् । विशाल चौलागाईंको निर्माण रहने फिल्मको फाइनान्स म्यानेजर सविन ढुङ्गाना छन् भने प्रोडक्सन म्यानेजर रविन बख्रेल रहेका छन् ।
सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहने फिल्ममा मुख्य सहायक निर्देशक वसन्त अधिकारी रहने छन् । आर आर फिल्म्सले वितरण गर्ने फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ रहने छन् । यो फिल्म फिल्म आगामी नेपाली नयाँवर्ष २०८४ देखि प्रदर्शनमा आउने जनाइएको छ ।