तपाईं यसलाई ‘कबड्डी ब्रम्हाण्ड’ पनि भन्न सक्नुहुन्छ । कुनैबेला कवितामार्फत भूपी शेरचनले वर्णन गरेको थाकखोला र त्यहाँको गुल्जार जीवनलाई यतिबेला रामबाबु गुरुङले दृश्यभाषामार्फत अघि बढाइरहेका छन् ।
कालीगण्डकी किनारस्थित थाकखोलको थकाली जीवन र आञ्चालिकतामाथि रामबाबुले कथा भन्न थालेको १२ वर्ष बित्यो । यससँग घरेलु फिल्मको व्यवसायिक लिगेसी, त्यसले जन्माएका पात्र र नेपाली फिल्ममा समुदायको कथालाई जोड्ने काममा यो फ्रेन्चाइजको वृहत्तर भूमिका छ ।
‘कबड्डी’को लोकप्रियतालाई मुख्यतः ७ कोणबाट व्याख्या गर्न सकिन्छ । पहिलो- चरित्र चित्रण (नायकभन्दा पहिले अपूर्ण मानिस), दोस्रो (सहायक पात्र) गाउँ आफै चरित्र बन्छ । तेस्रो- सौन्दर्य शाष्त्र (मुस्ताङको दृश्यभाषा मात्र होइन, जीवनको दृश्यभाषा) । चौंथो- (कथावाचन) ठूला घटनाभन्दा साना मानवीय द्वन्द्व । पाँचौं- (हाँस्य) संवादमा मात्र होइन पात्रको व्यवहारमा । छैटौं- स्थानीय संस्कृति र भाषाको प्रयोग र सातौं- (श्रृंखलाको लोकप्रियता) दर्शकलाई फेरि त्यही संसारमा फर्काउने क्षमता ।
सातौं स्थानको चर्चा यहाँनेर सान्दर्भिक हुन आउँछ । त्यही संसार अर्थात ‘कबड्डी युनिभर्स’, हामीले दशकदेखि हेर्दै र महसुस गर्दै आएको कथा । यहाँ ‘लार्जर देन लाइफ’का ठूला इस्यु छैनन्, यहाँ मानवीय जीवनलाई स्पर्श गर्ने मामुली घटनाहरू छन् । यो गति पाँचौं श्रृंखलासम्म कायम छ ।

पाँचौ श्रृंखला अर्थात ‘कबड्डी’ अर्थात ‘आफ्टर द फाइनल म्याच’मा प्रवेश गरौं ।
हामीले अघिल्ला चार श्रृंखला हेरिसकेका छौं । त्यसबीच थाकखोलको कथामा धेरै पात्र आए र गए । यद्यपि, केबीसी (काजी (दयाहाङ राई), बिके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ)को जीवन उस्तै किसिमले बग्दो छ । यी तीन पात्र आफ्नै समस्यासँग संघर्षरत छन् । काजीको जीवनमा धेरै युवती आए, तर घरजम हुन सकेन । बिके र छन्त्याल पनि विदेशिएर पैसा कमाउने सोचमा छन् । काजीका बाबुआमा पनि नातिको मुख हेर्न सके स्वर्गमा पुग्न सकिएला भन्ने धोको पाल्दै छन् ।
यदि तपाईंले अघिल्ला ४ श्रृंखला हेर्नुभएको छ भने, पाँचौ श्रृंखलाको कथा, द्वन्द्व र चरित्र चित्रणलाई गहिरोसँग बुझ्न सक्नुहुन्छ । त्यसले तपाईंलाई ‘नोस्टाल्जिक’ पनि तुल्याउन सक्छ । सिधै पाँचौ श्रृंखला हेर्नुभएको छ भने, दृश्यभाषाको ‘जेनेरेसन ग्याप’ हुनसक्छ । किनभने, कथा मात्र होइन, एउटा महसुस पनि हो ।
पाँचौ श्रृंखलासम्म आइपुग्दा काजी उद्यम गर्न चाहन्छ । पूर्वप्रेमिकाको सम्झनामा गाउँमा रिसोर्ट खोल्न चाहन्छ । यद्यपि, यसका लागि उसलाई लगानी जुटाउनु चुनौतिपूर्ण छ । ऊ बाबुआमासँग लगानीको लागि पैसा माग्छ । बाउआमाको शर्त हुन्छ- घरजम गरेपछि मात्र पैसा दिने । यो शर्त स्वीकार्दै काजीले विवाह गर्छ ।
यही मेसोमा विवाहित काजीसँग अकस्मात मैयाँको भेट हुन्छ । मैयाँ (रिश्मा गुरुङ) काजीको पहिलो प्रेम । मैयाँसँग भेटेपछि फिल्मको ‘सेकेन्ड एक्ट’ सुरु हुन्छ । मैयाँ यतिबेला कुनै समस्याले जेलिएकी छिन् । उनलाई साथ चाहिएको छ ।
यस्तोमा, काजीसामु दुई चुनौति एकसाथ आइलाग्छन् । ऊ नैतिकता र बाध्यताको सीमाले बाँधिएको छ । एकातिर, ऊ सामु विवाहलाई जोगाएर उद्यमशिलताका लागि लगानी जुटाउनुछ । अर्कोतिर– पहिलो प्रेमलाई निस्वार्थ ढंगले सघाउनुछ । यी दुई परिस्थितीमा परेको काजी अब कसरी अघि बढ्ला ? यी कुरा थाहा पाउन, फिल्म नै हेर्नुपर्छ ।

‘कबड्डी’को पाँचौ श्रृंखला समग्रमा पछिल्लो ४ वर्षमा अघिल्ला पात्रको जीवन कस्तो छ भन्ने कुराको चित्रण हो । काजीको घरजम हुन सकेको छैन र ऊ भित्रभित्रै एक्लिएको छ । काजी यसपटक पहिचान निर्माणको खोजीमा छ । यसका लागि ऊ उद्यमशिलता अँगालेर स्वरोजगार बन्न चाहन्छ ।
बिके र छन्त्याल विदेश उड्न चाहन्छन् । नयाँ श्रृंखलामा काजीको जीवनमा शान्ति (सिर्जना गुरुङ)को प्रवेश भएको छ । मैयाँ (रिश्मा) फर्किन्छिन् तर, उनको जीवनमा समस्याको समाधान हुन सकेको छैन । पाँचौ श्रृंखलाको उत्तराद्धले कबड्डीको आगामी यात्रा कता जान्छ भन्नेतिर संकेत गर्छ । त्यसको संकेत फिल्मको ‘क्लोज इन्डिङ’ले गरेको छ ।
निर्देशक रामबाबु गुरुङले पाँचौ श्रृंखलासम्म आइपुग्दा पनि आफ्नो कलात्मक विशिष्टता पोतेका छन् । उनको ‘कबड्डी’ निर्देशनलाई सोसियो–कमेडी फिल्मको निर्माणको दृष्टिले मात्र हेर्दा यसको कलात्मक विशेषताको एउटा हिस्सा छुट्छ । रामबाबुको निर्देशकीय विशेषता स्थानीय जीवन, परिचित मानवीय कमजोरी, सामूहिक अभिनय र परिस्थितिजन्य हास्यलाई एउटै सिनेमायी संसारमा जोड्नु हो ।
यो निर्देशकीय विशिष्टतालाई उनले पाँचौ श्रृंखलामा पनि निरन्तरता दिएका छन्् । यसपटक उनी पटकथा लेखकको रुपमा सहभागी छन् र उनको व्यक्तित्व लेखन शिल्पमा झल्किन्छ । पाँचौ श्रृंखलाको लेखनमा उनले अघिल्लो श्रृंखलाको शैली दोहोरिने जोखिमबाट सतर्क हुन खोजेको देखिन्छ ।
यसपटक काजी पात्र मच्योर्ड देखिन्छ । ऊभित्रको अन्तरविरोधपूर्ण ‘पर्सोना’ पाँचौ श्रृंखलाको महत्वपूर्ण छ । उसले यस श्रृंखलामा प्रेम र विवाहको सीमारेखा कोरेको छ ऊ यसपटक विवाहको पक्षमा उभिन्छ । काजी पात्रको संघर्षपूर्ण ‘आर्क’मा आएको यो महत्वपूर्ण रुपान्तरण हो । दयाहाङ, बुद्धि र विजयका पात्रको मित्रता यसपटक पनि दर्शनीय पक्ष हो ।

डेब्यू गर्ल सिर्जना गुरुङको अभिनय प्रशंसनीय छ । पहिलो फिल्मबाटै उनले आफूलाई स्थापित गरिदिएकी छन् । ‘फस्ट’ मात्र होइन, ‘सेकेन्ड’ एक्टमा पनि सिर्जनाले आफूलाई प्रस्तुत गरेकी छन् । विपिन कार्की यो फिल्ममा ऋण उठाउन मुस्ताङ पुगेका पात्रको भूमिकामा छन् । डनगिरी देखिने उनको पात्र फिल्मको रोचक पक्ष हो ।
फिल्ममा सबै पात्र ‘ग्रे’ जुनमा छन् । कमजोरीसहितका पात्रसँग दर्शकलाई रिस पनि उठ्छ र सहानुभूति पनि जाग्छ ।
यसपटक साउन्ड डिजाइनमा राम्रो काम भएको देखिन्छ । मुड दर्शाउने ध्वनिको सिर्जना पाँचौ श्रृंखलाको उत्कृष्ट पक्ष हो । सिनेमाटोग्राफी, कस्ट्युम, सम्पादन पनि उत्कृष्ट देखिन्छ । ‘थाकखोला…’ गीत फिल्मको उत्कृष्ट कम्पोज मात्र होइन, यसले फिल्मको आत्मालाई स्पर्श गरिदिएको छ ।
अन्त्यमा, यदि तपाईं ‘कबड्डी’ श्रृंखलाको विश्वसनीय दशर्क हुनुहुन्छ भने, तपाईंले पाँचौ श्रृंखला छुटाउनै हुँदैन । श्रृंखलालाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने, पक्कै पनि यसले निराश तुल्याउनेछैन । फिल्मले अघिल्लो श्रृंखलाको विशिष्टता र सौन्दर्यलाई निरन्तरता दिएको छ, जुन दर्शनीय अवश्य छ ।
