काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको लागि औपचारिक निम्तो दिन र तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, मिश्री कात्तिक १८ गते काठमाडौं आउनेछन् । प्रधानमन्त्री शाहले भने मंसिर ६ गतेबाट भारतको औपचारिक भ्रमण गर्ने तय भएको स्रोतको भनाइ छ ।
१३ चैतमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेयता शाहले पहिलो औपचारिक विदेश भ्रमण भारतबाट गर्न लागेका हुन्। भ्रमणको औपचारिक घोषणा भने विदेश सचिव मिश्री काठमाडौंबाट फर्किएपछि हुने छ।
‘आगामी साता काठमाडौंमा हुने उच्चस्तरीय तयारी बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा भ्रमण मिति घोषणा गर्ने तयारी छ’, परराष्ट्र स्रोतले भन्यो।
मिश्रीले काठमाडौंमा प्रधानमन्त्री शाहलाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नेछन्।
प्रधानमन्त्रीको भारत भ्रमणका लागि केही सातादेखि नै प्रारम्भिक तयारी सुरु भइसकेको जनाइएको । यसबारे मन्त्रालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका लागि सक्रिय रूपमा तयारी भइरहेको थियो। यद्यपि, कूटनीतिक समन्वयपछि मात्रै भ्रमणको अन्तिम मिति तय गरिएको हो।’
निवर्तमान राजदूत नवीन श्रीवास्तवले तीन वर्षे कार्यकाल पूरा गरी अक्टोबर १ मा स्वदेश फर्किएका थिए। यसैबीच, नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्तिक १७ गते काठमाडौं आइपुग्ने भएका छन्।
