काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित उच्चपदस्थ सरकारी कर्मचारी र उच्च प्रहरी अधिकारीसँग संदिग्ध सम्बन्ध राखेको र आर्थिक अपचलनको आरोप खेपेका इनम सापकोटाले जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् ।
इनमको तर्फबाट उनकी श्रीमती कविता पाण्डेले दर्ता गराएको निवेदनमा आफूलाई विमानस्थलबाट आँखामा पट्टी बाँधी अज्ञात स्थलमा लगेको, जबर्जस्ती बयान गराई हस्ताक्षर गराइएको र मानसिक यातना दिइएको उल्लेख गरिएको छ ।
निवेदनमा उनले विभिन्न व्यक्तिहरूको नाम लिई बयान गर्न लगाएको उल्लेख गरेका छन् ।
निवेदनमा लेखिएको छ, ‘निजहरूले मलाई १४ गतेदेखि १५ गते साँझसम्म अज्ञात स्थलमा कालोपट्टी लगाएर नै राखेका थिए । सो अवधिमा मसँग विभिन्न कुराहरू सोधपुछ गरेका थिए ।’
३० वर्षीय इनम सापकोटा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्कका कारण अनुसन्धानमा तानिएका हुन् । ११ असोजमा पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षाका लागि भन्दै टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेर मोबाइल जाँच गर्दा सापकोटासँग पटक–पटक फोन सम्पर्क भएको खुलेको थियो ।
त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट प्रहरीले १४ असोजमा नियन्त्रणमा लिएको थियो ।
