हेटौंडा । त्रिशूलीमा आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध बनेपछि हेटौंडा–काठमाडौं प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग तथा त्रिभुवन राजपथ र कान्तिलोकपथ सडकमा सवारी चाप बढेको छ । जसका कारण हेटौंडा-काठमाडौं सडकमा मालवाहक र यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरक-फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ ।
स्थानीय प्रशासनले जारी गरेको सूचना अनुसार १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै जानेछन् । काठमाडौंबाट हेटौंडा आउने सवारी फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदी हुँदै आउनुपर्ने छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ वसन्त अधिकारीका अनुसार, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्तिलोकपथ प्रयोग गर्नुपर्नेछ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीको चाप बढेको उनको भनाइ छ । प्रशासनले मकवानपुरको त्रिभुवन राजपथ नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको भन्दै इन्धन तथा भारी मालवाहक सवारीसाधनलाई उक्त बाटो प्रयोग नगरी सँगै रहेको डाइभर्सनमार्फत सञ्चालन गर्न अनुरोध गरेको छ ।
नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास प्रशासनको छ । प्रशासनले तोकेको व्यवस्थाको पालना गरी सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन चालक, यातायात व्यवसायी तथा यात्रुहरूलाई अनुरोध गरेको छ ।
विगतमा हेटौंडाबाट छोटो दूरीको वैकल्पिक मार्ग भएर काठमाडौं पुग्न ३ घण्टामात्र लाग्ने गरेकोमा अहिले सवारीको चापका कारण झण्डै ५ घण्टा लाग्ने गरेको छ ।