काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उनले आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न र नयाँ नियुक्ति पाएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका छन् ।
यसअघि सोमबार (मंसिर ८) का लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई अदालतको म्याद तामेल नभएको भन्दै नेपाल प्रहरीका तर्फबाट बहसमा सहभागी कानुन व्यवसायीले नयाँ म्याद जारी गर्न माग गरेका थिए ।
त्यसपछि अदालतले प्रहरी प्रधान कार्यालयका प्रतिनिधिमार्फत केसीलाई म्याद बुझाउन र अर्को पेसीमा मन्त्रिपरिषद्को निर्णयसहितका सक्कल कागजात पेस गर्न आदेश दिएको थियो । अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई समेत उपस्थित भएर सरकारको धारणा स्पष्ट पार्न भनेको थियो ।